२०७६ का सफल फिल्महरु (वर्ष समिक्षा)

वर्ष ०७६ लाई नियाल्दा नेपाली फिल्म क्षेत्र सफल बन्न सकेन । फिल्म ‘कालो वर्ष’ बाट प्रदर्शन सुरु भएको वर्ष ‘धुलो’ मा पुगेर अन्त्य भयो । अघिल्लो वर्ष ९६ वटा फिल्म प्रदर्शनमा आएका थिए भने यस पटक त्यो भन्दा धेरै थोरै ५५ फिल्म मात्र प्रदर्शनमा आए । प्रदर्शन गर्ने भनिएका केही सिक्वेल फिल्म र कमेडी फिल्म कोरोना भाइरसको कारण प्रदर्शनमा आउन सकेनन् । यो वर्ष समेत अन्य बर्ष झैँ कुनै हप्ता धेरै नेपाली फिल्म एक साथ प्रदर्शनमा आए भने कुनै महिना हलले नेपाली फिल्म प्रदर्शन गर्ने मौका नै पाएनन् । समग्रमा भन्दा यो बर्ष केही सिक्वेल, केही कमेडी फिल्मले मात्रै लगानी उठाउन सफल भए । ‘दाल भात तरकारी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘जात्रै जात्रा’, ‘छ माया छपक्कै’, ‘घर’ र ‘आमा’ यस वर्षका लगानी उठाउन सफल फिल्महरु हुन् ।
व्यवसायिक रुपमा सफल भएको फिल्म ‘दाल भात तरकारी’ आफैँमा राम्रो फिल्म भएको कारण भन्दा पनि नाम चलेका कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको नामले चलेको देखिन्छ । समिक्षकले समिक्षा समेत गर्न लायक नमानेको फिल्म चल्नुको अर्को कारण कलाकारको हुल रहेको छ । नयाँ देखी पुराना कलाकार सम्मको समूह राखेर निर्माण भएको फिल्मले लगानी त उठायो तर सफल र दर्शकहरुको मन जित्ने फिल्म बन्न भने सकेन । मह सञ्चार र किरण केसीले निर्माण रहेको यस फिल्मलाई डेब्यु  सुदन केसीले निर्देशन गरेका हुन् । किरण केसीका छोरा सुदनको यो डेब्यु निर्देशन हो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बांग्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहेको छ ।

सफल फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले लगानी उठाउदै केहि हदसम्म समिक्षकको साथ पनि पायो । यही फिल्मले बिपिन कार्की र बर्षा राउतलाई सफल कलाकारको रुपमा उभिन समेत मदत पुग्यो यस बर्ष । तत्कालिन समयको ३३ किलो सुन काण्डसंग समेत मिल्न आएको फिल्मको कथाले समेत दर्शकलाई हलसम्म तानेको थियो । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । फिल्ममा कलाकारहरु दयाहाङ राई, विपिन मल्ल, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।

ब्याज खान फिल्म नबनाएको बताए पनि ‘कबड्डी कबड्डी कबड्डी’ हेर्दा नयाँपन केही पनि देख्न पाइएन । पहिलाझैँ सोल्टिनीको पछि लागेका काजी र उही थोत्रो सोल्टिनी तानातानमै कथा सकियो । खैर फिल्मले लगानी उठाउन सफल भयो । फिल्म फेसबुकमा लिक समेत भयो । त्यसको प्रत्यक्ष परोक्ष असर निर्मातालाई परेको देखिन्छ । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराल लगायतका कलाकारहरुको अभिनय छ ।
अर्पण थापाको लेखन तथा निर्देशन रहेको फिल्म ‘घर’ पनि यस वर्ष लगागी उठाउन सफल भएको छ । लगानी उठाउन सफल भए पनि यस हरर फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । फिल्ममा निर्देशक थापा, सुरक्षा पन्त र बेनिशा हमालले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

दिपक राज गिरी टिम र रोहित अधिकारीले संयुक्त रुपमा निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ दीपक टिमका अन्य फिल्म भन्दा केही फरक स्वादको बनेको थियो । दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मले कमेडीको साथ साथै सामाजिक बिषयबस्तु सहि ढंगले उठान गरेको समिक्षक बताउछन् । यहि फिल्मले पहिलो पटक केकी अधिकारीलाई सफलताको फल पनि चखायो । लामो फिल्म करियरमा यो नै उनको पहिलो सफल फिल्म बन्न पुग्यो । फिल्ममा केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतको अभिनय रहेको । यस पटक दिपाश्री निरौला भने सल्लाहकार निर्देशकको रुपमा रहेकी थिइन् ।

बर्षको अन्त्य तिर प्रदर्शनमा आएको फिल्म ‘आमा’ ले लगानी उठाउन सफल भएको छ । साथै यस फिल्ममा प्रयोग गरिएको फरक टेक्निकका कारण र कथा प्रस्तुतिले समिक्षकको मन पनि केही हद सम्म जित्न सफल भएको छ । प्रदर्शन हुदै गर्दा कोरोना महामारी सुरु भएकोले लामो समय फिल्मले अपेक्षित दर्शक प्राप्त गर्न सकेन । फिल्मको ओभरसिज सेल बाँकी रहदै फिल्मले आफ्नो लगानी सुरक्षित गरेको छ । सुरक्षा पन्तले यो फिल्म मार्फत पुन: एक पटक आफुलाई प्रमाणित गरेकी छिन् । भिन्न चार महिलाको कथामा निर्माण भएको फिल्मले नारी बिद्रोहलाई देखाउन खोजेको छ । फिल्ममा दिपेन्द्र के. खनालको लेखन, निर्देशन तथा छाँयाकन रहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने सह-निर्माताको रुपमा सन्तोष अधिकारी रहेका छन् । फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय रहेको छ ।

यसरी समग्रमा हेर्दा यो बर्ष डेब्यु निर्देशक, निर्माताको ओइरो लागे पनि उनीहरुका फिल्मले अपेक्षित ब्यापार भने गर्न सकेनन् । र यो बर्ष फरक धार र संरचनामा फिल्महरु निर्माण गर्ने साहस पनि निर्माता/निर्देशकहरुले गर्न सकेनन् ।