केकीको भाग्य खुलेको बर्ष २०७६ (वर्ष समीक्षा)

अभिनेत्री केकी अधिकारीको लागि वर्ष २०७६ विशेष वर्ष बनेको छ । यो वर्ष उनले मुख्य अभिनेत्रीको भूमिकामा अभिनय गरेको फिल्मले पहिलो पटक ब्यबसायिक सफलता हासिल गरेको  छ । फिल्म थियो – ‘छ माया छपक्कै’ । दिपेन्द्र लामाको निर्देशन रहेको यो फिल्म वर्षकै सबैभन्दा कमाउने फिल्म बन्न सफल भयो ।  त्यस्तै केकी निर्माता रहेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले पनि सफलताको हासिल गरेको छ ।

 

त्यस्तै उनले ‘सेल्फी किंग’ मा अथिति भूमिका निभाउदै एउटा गीतमा नृत्य गरेकी थिइन् । फिल्म त चलेन तर उक्त गीत भने रुचाइएको थियो ।

उनी मुख्य अभिनेत्रीको रुपमा रहेको यसै बर्ष प्रदर्शनमा आएको फिल्म ‘रातो गलबन्दी’ हलमा लागेको कसैले पत्तो पनि पाएनन् । फिल्म चल्यो या चलेन दर्शकले थाहै नपाइ हलबाट उत्रियो ।

‘स्वर’ बाट डेब्यु गरेकी केकीले करिब नौ वर्षको फिल्मी करियरमा दुइ दर्जन जति फिल्महरुमा अभिनय गरिसकेकी छिन् । त्यस्तै उनले १५ भन्दा बढी फिल्महरुमा अथिति कलाकारको रुपमा काम गरिसकेकी छिन् । यस अघि फिल्म नचले पनि उनको अभिनय क्षमताको भने चर्चा भईनैरहेको हुन्छ । तर उनलाई कहिल्यै ब्यबसायिक रुपमा सफल हिरोइनका रुपमा चिनिन नसकेकोमा आफैसंग गुनासो थियो । उनले ठुला ब्यानरमा अभिनय गरे मौकाहरु पनि पाएकी थिईन् तर पनि फिल्महरुको कमाई सन्तोषजनक हुन सकेको थिएन । फिल्म हलमा चल्नु भन्दा अगाडीसम्म फिल्मको राम्रै चर्चा हुन्थ्यो तर चलेपछि भने व्यापार डामाडोल ।

 

उनले खेलका दुइ दर्जन भन्दा बढि फिल्ममध्ये उनि आफैलाई असाध्यै मन पर्ने फिल्म भने ‘मसान’ हो । निर शाह निर्देशित यस फिल्मको तारिफ गरेर थाक्दिनन् । केकीका लागि आफुले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्स्प्रेस’ पनि बिशेष छ । आफैले निर्माण गरेको भएर उनको लागि यो बिशेष बनेको हो । ‘मसान’, ‘महसुस’, ‘लभ सासा’, ‘बितेका पल’ र ‘छ माया छपक्कै’ उनका आशा गरिएका फिल्महरु थिए ।

छ माया छपक्कै कमेडी च्याम्पियन
गत असोज २४ गते हलमा लागेको फिल्म ‘छ माया छपक्कै’ केकीको सर्वाधिक कमाएको फिल्म बन्यो । जसका कारण उनि खुशी छिन् । फिल्म लगत्तै उनि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्माताका रुपमा चर्चामा आइन । पहिलो कमेडी शो भएका कारण निमार्ताको नाक थामेको थियो ।  शुरुवातमा सोचे अनुरुप हुन नसकेको शो ले विस्तारै मार्केट लियो र उनि एक सफल निर्माता बनिन् । ‘कोहलपुर एक्प्रेस’ बाट उनले निर्माणमा हात हालेकी थिइन जुन उनको ड्रिम प्रोजेक्ट थियो तर त्यसमा उनि सफल हुन सकिनन्, ‘कमेडी च्याम्पियन’ ले भने उनलाई एक सफल निर्मात्रीको रुपमा उभ्यायो ।

‘कमेडी च्याम्पियन’ लाई लिएर उनको मनमा पनि शंकाहरु थिए तर शुरुवातका केहि भाग सम्म सफलता हासिल गर्न नसके पनि पछी शो ले एकैपटक फड्को मारेको थियो । दर्शकहरुमाझ लोकप्रिय बनेपछि आर्थिक हिसाबले केकीलाई फाइदा त भयो भयो चर्चा पनि राम्रै भयो ।

म्युजिक भिडियो र बिज्ञापनहरु
यो बर्ष उनले ५० वटा भन्दा बढि म्युजिक भिडियोहरु खेलिन् । यो आफैमा ठुलै संख्या हो । फिल्म, म्युजिक भिडियोका अलवा यस वर्ष उनि धेरै विज्ञापनहरुमा पनि देखिइन् । उनि ‘दादुरा, रुबेला को खोप (स्वास्थ मत्रालय), एनआइसि एसिया बैक, लाली, करेन्ट चाउचाउ, ट्याक्सी मान्डु, सिल्कवेयर जस्ता विज्ञापनहरुमा देखिएकी थिइन् भने विभिन्न क्याम्पियनहरुमा पनि सक्रिय थिइन् ।

आगामी फिल्महरु
उनका ‘परदेशी -२’ र ‘सरकारी जागिर’ को केहि छायांकन बाँकी छ भने  ‘झिगे दाउ’ को छायांकन सकिएको छ ।

घुमघामको वर्ष
उनको लागि यो बर्ष काम, दाम र घुम्ने अवसर सबै भएको वर्ष बन्यो । यो बर्ष मात्र उनि दुई पटक अमेरिका पुगीन् । उनी अमेरिकामा भएको एक अवार्ड कार्यक्रममा सहभागी भएकी थिइन्  भने यही वर्ष भएको ‘मेरो डान्स कप’ मा पनि जजका रुपमा पनि अमेरिका गएकी थिइन् । यहि वर्ष उनि दुबइ र कतारका कार्यक्रमहरुमा पनि सहभागी भइन् ।

विहे, ‘कमेडी च्याम्पियन’ र पूर्वराजा सँगको गसिप
अन्य वर्ष भन्दा यो वर्ष केकीको गसिपहरु प्रसस्तै बने । उनको गसिप बन्नुको प्रमुख कारण उनका सहकर्मीहरुले विवाह हो । सहकर्मीको विवाहमा पुगेकी केकीलाई धेरैले सोध्ने प्रश्नका कारण उनी सञ्चारमाध्यममा गसिपको पात्र बनिन् । उनलाई धेरैले सोध्ने प्रश्न हुन्थ्यो ‘विहे कहिले हुन्छ ?’ त्यसमा उनले दिने उत्तर – ‘जुरे पछि’ ले गसिपका ठाउँ पाएको थियो । ‘कमेडी च्याम्पियन’ टिमको गसिपले पनि यो बर्ष ठाउँ पायो ।

त्यस्तै पुर्वराजासँग ठमेलको क्लब ‘एलओडी’ मा नाचेको र तस्विर खिचाएको कुराले पनि संचार माध्यममा राम्रै स्थान पायो ।

गोल्डेन इयर मनाउने तयारी
‘छ माया छपक्कै’ र ‘कमेडी च्याम्पियन’ बाट पाएको सफलताका कारण केकीले यस वर्ष साथीहरु जम्मा गरेर ‘गोल्डेन इयर’ का रुपमा मनाउने तयारी गरेकी थिइन् । तर कोरोना भाइरसका कारण उनको योजना सफल हुन सकेन ।

यो वर्षको सफलताहरु हेर्दा करिब नौ वर्षको फिल्मी करियरमा सबैभन्दा राम्रो वर्ष २०७६ केकीको ‘गोल्डेन इयर’ थियो भन्दा फरक पर्दैन ।