‘हाइ बजेट’अभिनेत्रीहरु फ्लप (वर्ष समीक्षा)

वर्ष २०७६ लाई नियाल्दा औंलामा गन्न मिल्ने फिल्मले मात्र लगानी उठाउन सफल भए । यो वर्ष नायिकाको लागि समेत फलदायी हुन सकेन । सुरक्षा पन्त ,केकी अधिकारी र  बर्षा राउतबाहेक अन्य नायिकाको कामको खासै चर्चा भएन यो वर्ष । तर, ‘हाइ बजेट’ का कारण भने केही नायिका चर्चामा रहिरहे । ठुलो रकम पारिश्रमिक लिने नायिकाहरुले पारिश्रमिक त पाए तर दर्शकको माया भने पाएको देखिएन ।

यस वर्ष पूजा शर्माका कुनै पनि फिल्म सफल बन्न सकेनन् । उनको पारिश्रमिकको चर्चाले त लामो समय फिल्म जगत ततायो । तर दु:खको कुरा निर्माताले उनको नाम प्रयोग गरेर केही राहत पाउन सकेनन् । उनी अभिनित फिल्म ‘पोइ पर्यो काले’ ले न त लगानी उठायो न दर्शकको माया नै पाउन सक्यो । उनले २० लाख पारिश्रमिक लिएको चर्चा भए पनि उनी माथिको लगानीले निर्मातालाई राहत दिन सकेन । यहि वर्ष  प्रदर्शन हुने भनिएको ‘म यस्तो गीत गाउछु २’ को गीतको चर्चा त राम्रै भयो, फिल्म कस्तो हुन्छ भन्ने थाहा पाउन भने केहि समय  कुर्नु पर्नेनै हुन्छ । सामाजिक संजालमा पूजा शर्माका फ्यानहरु गनिनसक्नु छन् । तर पूजाका फिल्महरुको कमाई हेर्दा ति फ्यानहरु उनका फिल्म हेर्न भन्दा पनि फेसबुक, इन्स्टाग्राम र युट्बमा मा उनका पोष्ट, भिडियो र फिल्महरु ‘लाइक, कमेन्ट र सब्स्क्राइब’ गर्न मात्र सक्रिय रहेको अनुमान गर्न सकिन्छ ।

एक्लैले फिल्म चलाउन सक्ने भनेर चर्चा गरिने नायिका साम्राज्ञी आरएल शाहको लागि यो बर्ष फ्लप सावित भयो । फिल्मको कारण भन्दा बढी प्रेमीसंगको रोमान्सका कारण चर्चामा आएकी उनका दुवै फिल्महरु – ‘रातो टिका निधारमा’ र ‘मारुनी’ ले अपेक्षित सफलता प्राप्त गर्न सकेनन् । यतिबेला साम्राज्ञीको हातमा एउटा पनि फिल्म छैन । मोटो रकम लिएर खेल्ने साथै नायकलाई सिकाउनु परेको गुनासो गर्ने उनी आफ्नै अभिनय समेत दर्शकले मन नपराएको भने थाहा पाउदिनन् । उनले आफ्नो अभिनयमा नै अझै धेरै मेहिनेत गर्न आबश्यक देखिएको छ ।

अभिनेत्री नम्रता श्रेष्ठले अभिनय साथै लगानी पनि गरेर ‘जाईरा’ बनाइन्, फिल्म असफल भयो । फिल्मका लागि उनले धेरै समय लगाएर मार्सल-आर्ट सिकेको देखि शारीरिक परिवर्तन ल्याएको बिषयले मिडिया ततायो । तर फरक जनराको फिल्म बनाउने उनको टिमको प्रयासलाई दर्शकले मन पराएनन् । फिल्मबाट उनले १५ लाख पारिश्रमिक लिने चर्चा चलेको थियो । फिल्म निर्माणमा गैसकेपछि उनले आफ्नो पारिश्रमिकको केहि अंश र केहि थप रकम लगानी गरेकि थिईन् । २०७६ मा भने दिनेश राउत निर्देशित ‘प्रसाद’ मा उनले गरेको अभिनयको प्रसंशा भएको थियो र फिल्मले राम्रै कमाई पनि गरेको थियो ।

फिल्म निर्माणको करिव आधा हिस्सा कलाकारमा लगानी गर्दा समेत फिल्म चलेको देखिदैन । कलाकार माथिको लगानी बढेर फिल्म निर्माणमा रकम कम भै फिल्म कमसल बन्न पुगेको त होइन ? भन्ने संका फैलिन थालेको छ । यसरी हेर्दा निर्माताको कलाकार माथिको लगानी बालुवामा पानी झैँ भएको देखिन्छ ।