“संकटको बेला पार्टीको झण्डामुनि बसेर राजनीति नगरौं” – रेखा थापा

कोरोना भाइरसको कारण अहिले विश्व संकटमा छ । यस्तो संकट आउँछ भनेर कसैले पनि सोचेको थिएन । यतिबेला सरकारले गरेको काम एकदमै राम्रो छ । यतिसम्म गर्छ भन्ने मैले सोचेको थिइन । त्यसैले सरकारलाई गालि नगरौं । सरकारबिरुद्ध बोल्दा, औंला ठडाउँडा यो अवस्थामा आफुले आफ्नो ठाउँबाट के गर्यौं भन्ने पनि सोच्नुपर्छ ।

अस्ती सरकारले काठमाडौँबाट घर फर्कन चाहनेहरुलाई घर पठाउने भनि गरेको निर्णय शुरुमा भवनामा बोलेको हुनसक्छ तर पछि विज्ञहरुले यस्तो अवस्थामा यातायात नखोल्न सुझाव दिएपछि निर्णय फिर्ता लिएको हुन सक्छ । तर जे भने पनि त्यो प्रक्रिया भने गलत थियो ।

सरकार तथा सम्बन्धित मान्छेहरुलाई काम गरेर देखाउने अवसर हो यो समय । पार्टीको झन्डामुनि बसेर गाली गर्नु स्वाभाविक हो तर देशको नागरिकको हैसियतले हामीले आफ्नो दायित्व भुल्नु हुदैन ।

सरकारले अथवा जानकार व्यक्तिहरुले लकडाउनका विषयमा अझै राम्रोसँग बुझाउनु पर्ने देखिन्छ । लकडाउन भनेको तपाइको सम्पूर्ण जिम्मा सरकारले लिएको हो, तपाईंमा कुनै समस्या या कठिनाइ देखिनु भयो भने सरकारले सम्बोधन गर्छ/गर्नुपर्छ। तपाईको वरपर कोही समस्यामा परेको छ भने तपाईले सम्बन्धित निकाय या प्रहरीलाई जानकारी दिन सक्नुहुन्छ । यदि कुनै निकाय आएन भने बल्ल तपाई आफू जाने हो, किनकी यो बेला भनेको स्वास्थ्यप्रति अत्यन्त सचेत हुनुपर्ने बेला हो । सम्बन्धित मान्छे कोरोना संक्रमित पनि हुन सक्छ र तपाई प्रत्यक्ष रुपमा सम्बन्धित मान्छेसँग हुँदा पनि तपाइलाई खतरा हुन सक्छ ।

यो भनिरहँदा अमानवीय व्यवहार देखाए भन्लान् तर स्वास्थ्यका हिसाबमा र यो महामारी हेर्दा तपाई आफू सुरक्षित हुनुपर्छ, आफू सुरक्षित हुनुभयो भने अरु पनि सुरक्षित हुन्छन् ।

यतिबेला राहत बाड्नु पनि मान्छेहरुलाई फेसन जस्तो भएको छ । भूकम्प जस्तो कुनै एक ठाउँ या एक पक्ष मात्रै पीडित छैन, सम्पूर्ण मजदुर वर्गहरु यतिबेला पीडित छन्, उनीहरुको जिम्मा लकडाउन गरेर सरकारले लिएको छ। स्थिति भयावह हुनसक्छ, सरकारको नजर सबैठाउँमा नपुग्ने दिन पनि आउनसक्छ, त्यसका लागि आफूसँग भएको नगद या खाद्य सामग्री जोगाएर राख्नुस् पछि काम लाग्न सक्छ । तपाईले कोही समस्यामा परेको मान्छे देख्नु हुन्छ भने तत्कालै प्रहरी या स्थानीय निकायलाई फोन सम्पर्क गर्नुस्, उहाँहरुले राहत दिइरहनु भएको छ । तपाईहरुले जोगाएर राखेको खाद्य सामग्री पछि तपाइकै लागि काम लाग्न सक्छ ।

यतिबेला पक्ष प्रतिपक्ष सबैले सरकारले गरेको कामलाई हौसला दिएर सहयोग गर्नु पर्ने बेला हो तर एक आपसमा खुट्टा तानेर बसिरहेको देखिन्छन्। मान्छेहरु झन्डामुनि बसेर सरकारको बेइज्जत गरिरहेका छन् । त्यसले अन्तरराष्ट्रिय स्तरमा नराम्रो सन्देश जान्छ ।

नेता गगन थापाका सम्बोधन, तर्क र फेसबुक लाइभमा उनले गरेका कुराहरु पार्टीको झन्डामुनि बसेर गरिएको राजनीति हो । उहाँ स्वास्थ्य मन्त्री भइसकेको मान्छे हो, उहाँलाई सबै लुप होलहरु थाहा थियो, तर आफ्नो कार्यकालमा त्यस्तो के परिवर्तन भएको थियो र ? यो बेला पार्टीको झन्डामुनि बस्नुभन्दा पनि विश्व शान्ति र स्वास्थ्य को कामना गर्नु पर्ने हो । अहिलेको परिस्थितिमा उहाँले बिरोध गर्नुभन्दा पनि सुझावहरु दिदा उत्तम हुन्थ्यो ।

यो अचानक आएको परिस्थिति हो, हेर्दै सिक्दै जाने हो । सरकारलाई शुरुको दिनमा आवश्यक सामग्रीहरु कसरि जोहो गर्ने भन्ने थाहा थिएन। तर बिस्तारै गर्दै र सिक्दै गरेको छ ।

अहिले मानिसहरुमा मानसिक विचलन आउन थालिसकेको छ, यस्तो बेला गगन थापाजस्ता नेताहरुले त्यस बिषयमा सम्बोधन गर्नु पर्ने हो, लकडाउनका बारेमा सुसूचित गर्नुपर्ने हो । नेताहरुले नकारात्मक कुरा गर्दा कार्यकर्ताहरुको सोसल मिडियामा द्वन्द र नकारात्मक कुरा मात्र आउँछ, जसले सोसल मिडिया हेरेर बसेकाहरुलाई राजनीतिप्रति नैराश्यता पैदा गरिदिन्छ ।

अहिलेको स्थिति हेर्ने हो भने राजनीतिक दलहरुले पुरानो तरिकाले राजनीति गरिरहेका छन् । जनताहरु स्मार्ट भइसकेका छन्, जो चुक्यो त्यो अवश्य फेल हुन्छ । देशमा अख्तियार अनुसन्धान आयोग, कानुन अनि प्रहरी छ । यदि यो बेलामा कसैले भ्रस्टाचार गर्यो भने यी निकायहरुले काम गर्छन, गल्ती गर्नेले कर्मको फल भोग्नैपर्छ । पूर्वमन्त्री र विशिष्ट व्यक्तिहरु जेल गएका हामी सबैले देखिरहेकाछौं । यो अवस्थामा कसैले भ्रस्टाचार गरेका छन् भने र कानुनले पनि उनीहरुलाई केही गर्न सकेन भने जनताहरुले उनीहरुलाई बहिस्कार र तिरस्कार गर्नेछन् ।

यतिबेला साँच्चिकै पीडित भनेको मजदुरहरु हुन्, उनीहरुको दायित्व पूर्ण रुपमा सरकारले लिनुपर्छ, सरकारसँग कोष छ, त्यो कोष परिचालन गर्नुपर्छ, विकास खर्च भएका छैनन्, त्यो यति बेला चलाउने हो, दवी प्रकोपका खाताहरु छन् ती पनि यति बेला चलाउनुपर्छ । सीमापारी भएका नेपालीहरुलाई देश भित्र ल्याएर क्वेरेंन्टाइनमा राखियोस्, उनीहरुलाई हेयको दृष्टिले नहेरि राम्रोसँग खान दिएर राखियोस्।

जनता नै सबथोक हो, जनता नभए भोलि को माथि राज गर्ने ? विश्वको परिवेश हेर्दा पनि ठूला ओहोदाका, धनी सबैलाई लागेको छ यो रोग, यदि यो विकराल भयो भने तपाईहरुलाई (नेताहरु) पनि लाग्न सक्छ, त्यसैले तपाईंहरु अहिलेदेखि नै सचेत भएर अंक नबढाउने प्रयासमा लाग्नुस् ।

सोसल मिडिया र पार्टीका केही कार्यकर्ताहरु प्रधानमत्री केपी ओली र राष्ट्रपति आफै नै पीपीए लगाएर बिरामीको उपचार गर्न जाने, घर घरमा राहत लिएर जाने र सबैको घरमा पुगेर “घरमै बस्नुस” भन्नु पर्ने जस्ता कुरा गरिरहेका छन्। कुनै वडाको अध्यक्षले विपक्षी पार्टीको भएर काम नगर्ने तर दोष चाही केपी ओलीले गरेन भनेर लगाउने प्रवृतिहरु पनि देखिएको छ।

देश संघियतामा गएको छ, सबैले केन्द्रको मुख ताकिरहनु पर्दैन, संघियता बनाइएको नै त्यसकै लागि हो । तपाइको स्थानीय प्रधानमन्त्री भनेको वडा अध्यक्ष हुन्, अध्यक्षले पनि आफूले सक्षमता देखाउने बेला हो । केही अपवाद बाहेक वडा देखि केन्द्रसम्म सरकारले गरेको कामदेखि म भने सन्तुष्ट छु।

(अभिनेत्री रेखा थापासँग मेरोफिल्मले गरेको कुराकानीमा आधारित)