सनसिटीबाट बेनिशा हमाल भन्छिन्-‘सबैजना मानसिक त्रासमा हुनुहुन्छ’

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि यतिबेला अपार्टमेन्ट भित्र त्राशको वातावरण छ । अभिनेत्री बेनिशा हमाल पनि त्यहि अपार्टमेन्टमा परिवार संग बस्दै आएकी छिन्।

मेरोफिल्म संग कुरा गर्दै उक्त समाचार थाहा पाए पछि आफूहरुलाई पनि मानसिक तनाब भएको तर अहिले मन सम्हालेर बसेको उनले बताइन्। उनी अपार्टमेन्टको ‘जे’ ब्लकमा बस्दै आएकी छिन्, संक्रमण ‘ए’ ब्लक मा देखिएको हो। लकडाउन शुरु हुनुभन्दा पहिले भारतबाट फर्केकी बेनिशा १५ दिन आइसोलेसनमा बसेकी थिइन् ।

बेनिशाका अनुसार केस देखिनु अघि प्रत्येक दिन बिहान ८ बजे भन्दा अगाडी किनमेलको लागि बाहिर जान पाउने नियम थियो, उनी पनि २-३ पटक किनमेलको लागि बाहिर निस्केकी थिइन् । उनले भनिन् – “हिजो बेलुका ६ बजे देखि लक्ड भएको छ, यहाँ बस्नेहरू सबैजना मानसिक त्रासमा हुनुहुन्छ । तर, प्रहरी र स्थानीय तहले राम्रोसँग अनुगमन गरिरहनु भएको छ ।” उनले अगाडी भनिन् – “अहिले हामीहरु अनुशासित भएर नियम फलो गर्दै बसिरहेका छौं ।”

अहिले अपार्टमेन्टभित्र स्यानिटाइज गर्ने काम पनि भइरहेको छ। अपार्टमेन्ट बाहिर सानो संख्यामा प्रहरी तैनाथ गरिएको छ । त्यस्तै अपार्टमेन्ट भित्र अत्याबश्यक सामग्रीहरु पुर्याउनको लागि पहल शुरु भइसकेको छ ।

संक्रमण देखिएको खबर आएपछि आफ्ना थुप्रै प्रसंशकहरुले फोन गरेर हौसला दिएको भन्दै बेनिशाले आफुप्रति चासो ब्यक्त गर्ने सबैप्रति आभार ब्यक्त गरेकी छिन् ।