बर्ष २०७६ मा ज्यान गुमाउने कलाकर्मी

अघिल्लो बर्ष नेपाली कलाकारिता क्षेत्रले धेरै कलाकर्मीलाई गुमाउन पुगेको छ । कलाकार सुभद्रा अधिकारीदेखि, दिपक क्षेत्री हुदै युवा वृत्तचित्र मेकर मिलन पौडेल सम्मको मृत्यु नेपाली फिल्म क्षेत्रको लागि अपुरणीय क्षति हो । आजको हाम्रो बिषय बर्ष ०७६ मा मृत्युलाई अंगाल्नेको बारेका रहने छ :

गायक नोर्देन तेन्जिंग भुटियाको साउन २० मा निधन भएको थियो । हंगकंग स्थित हिमालयन्स ब्याण्डमा आबद्ध रही ख्याति कमाएका नेपाली पप गायक भुटियाले ‘मुसुमुसु हासिदेउ’ , ‘मायाले माया गासिदेउ’ लगायत चर्चित गीत गएका छन् ।

सफल कलाकार सुभद्रा अधिकारीको साउन ३२ गते निधन भएको थियो । निमोनियाबाट ग्रसित उनको आफ्नै निवास डल्लुमा निधन भएको हो । उनको ७२ बर्षको उमेरमा निधन भएको हो । फिल्म ‘भाउजु’ मा काम गरेपछि उनलाई फिल्म क्षेत्रकी भाउजु भनेर समेत चिनिएको थियो । उनले अभिनय गरेका ‘काठमाण्डु’, ‘मसान’, ‘शासन’, ‘बाटो मुनिको फुल’, ‘किस्मत’, ‘दोस्ती’, ‘मनको बाँध’, ‘बासुदेव’, ‘माया प्रिती’, ‘बेहुली’, ‘पिरती’, ‘कन्यादान’, ‘चिनो’, ‘कस्तुरी’, ‘सपना’, ‘भाउजु’, ‘स्वर्ग’, ‘कर्जा’ लगायतका थुप्रै फिल्म सफल छन् ।

फिल्म निर्देशक किशोर रानाको निधन भदौ ४ गते भएको हो । उनको ६४ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि मिर्गौलाको रोगले थालिएका थिए । उनले ऐतिहासिक फिल्म ‘सीमारेखा’ निर्देशन गरेका थिए भने पहिलो सिनेमास्कोप फिल्म ‘राँको’ समेत बनाएका थिए । फिल्म कर्जामार्फत उनले नायक धिरेन शाक्यलाई डेब्यु गराएका थिए । उनकी श्रीमती गायिका संगीता राना प्रधान रहेकी छन् ।

कलाकार दीपक क्षेत्रीको ५८ बर्षको उमेरमा मङ्सिर २८ गते शनिबार निधन भएको थियो । उनी आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका थिए । दिनभरी डबिंग गरेर फर्किएका उनी बिहान नउठेपछि ढोका फोडेर हेर्दा मृत भेटिएका थिए ।

चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको मङ्सिर २९ गते निधन भएको हो । भट्टराईको मुटुमा केही समस्या देखिएपछि अस्पताल लगिएकोमा अस्पतालमा पुग्दासम्म नै उनको निधन भइसकेको अस्पतालले बताएको थियो । ‘चिनो’ मार्फत अभिनयमा प्रवेश गरेका भट्टराईले आधा दर्जनभन्दा बढी फिल्म निर्माण गरेका थिए । ‘आफ्नो मान्छे’, ‘पाहुना’, ‘देवरबाबु’, ‘सो सिम्पल’, ‘छोडीगए पाप लाग्ला’, ‘यात्रा’ उनले निर्माण गरेका चर्चित फिल्म हुन् ।

हॉस्यकलाकार आनन्द थापाको ८० बर्षको उमेरमा यसै बर्ष पुस २ गते निधन भएको हो । २ वर्ष देखी प्यालाईसिसका कारण थलिएका थापाका श्रीमती र ३ छोरा छन् । फिल्म मनको बाँधवाट अभिनय यात्रा सुरु गरेका थापाले ‘कुमारी’, ‘कान्छी’, ‘मायँप्रिती’ लगायत धेरै फिल्ममा काम गरेका थिए । कुशल अभिनेताका रुपमा परिचित थापाले फिल्ममा अभिनयका साथै लेखन र निर्देशन समेत गरेका छन् ।

गायक निशान भट्टराईको पुस २९ गते मंगलबार बिहान करिव ४ बजे निधन भयो । मंगलबार राति १ बजे आफ्नो रेस्टुरेन्ट बन्द गरेर घर फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको अस्पतालमा नै निधन भएको हो । दरबारमार्गबाट राति करिब १ बजे आफ्नो निवास जडीबुटी फर्किने क्रममा उनी आफैंले चलाएको कार तीनकुनेको डीभाइडरमा ठोक्कीएपछी दुर्घटना भएको थियो ।

अभिनेत्री महिमा सिलवालको सवारी दुर्घटनामा निधन भयो । माघ १ गते घर (चितवन) जाने क्रममा दुर्घटना हुँदा घटनास्थलमै उनको निधन भएको हो । महिमाले थुप्रै म्युजिक भिडियोहरु साथै ‘ब्वइफ्रेन्ड’, ‘दानव’, ‘अप्रिल फुल’ लगायतका फिल्महरुमा अभिनय गरेकी थिइन् ।

विश्वकै होचा व्यक्तिको किर्तिमानी राखेका खगेन्द्र थापा मगरको माघ ३ गते शुक्रबार निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका खगेन्द्रको शुक्रवार दिउँसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन समेत सफल भएका थिए । उनले विभिन्न टेलीसिरियलमा काम गरेका थिए ।

वृत्तचित्र निर्देशक मिलन पौडेलको पनि यहि वर्ष निधन भयो । फागुन २७ गते होली खेल्न साथीहरुको साथमा दिल्लीबाट ऋषिकेश पुगेका मिलन पौडी खेल्ने क्रममा तपोवन क्षेत्रको गंगा नदीमा डुबेका थिए । वृत्तचित्र तथा छोटा फिल्ममा भविष्य बनाउँदै गरेका २५ वर्षीय मिलन दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत थिए । पछिल्लो समय भने उनी दिल्लीमा भड्किएको धार्मिक दंगाको भिडियो खिच्नमा व्यस्त थिए । काठमाडौं विश्वविद्यालयबाट पत्रकारितामा स्नातक गरेका मिलन २ वर्षयता जामियामा स्नातकोत्तर पढ्दै थिए । पछिल्लो समय फिल्म मेकरको रुपमा परिचय बनाउदै गरेका उनको सानै उमेरमा निधन भएको हो ।