वर्ष ०७६ मा करोड क्लव प्रवेश गरेका फिल्मी गीतहरु

फिल्म उद्योगको लागि खासै सुखद हुन नसकेको बर्ष २०७६ मा करोड क्लव प्रवेश गर्ने गीतहरु पनि सिमित संख्यामा मात्र रहेका छन् । आजको चर्चाको विषय करोड बढी दर्शकले युट्युवमा हेरेका फिल्मका गीतको रहेको छ । करोड भ्युज पाउने गीतहरु स्तरीय भएर धेरै हेरिएको हो या होइन दर्शकले जान्नेछन् । तर थोरै भ्युज भएर पनि धेरै स्तरीय भिडियोहरुले पाउनु पर्ने जति चर्चा पाएको देखिदैन ।

हेरौ करोड क्लव प्रवेश गर्ने फिल्मका गीतहरु :

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’ को गीत ‘पिरतीको मिठो तिर्सना’ ले करोड क्लव प्रवेश गरेको छ । उक्त गीत तुलसी घिमिरे निर्देशित फिल्म ‘देउता’ को गीतको रिमेक हो । रिमेक गीतमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी फिचर्ड छन् । कुसुम गजमेर र तुलसी घिमिरेको शब्द रचना तथा रन्जीत गजमेरको संगीत रहेको यस रिमेकमा मेलिना राई र तारा प्रकाश लिम्बुले आवाज दिएका छन् । उक्त गीतको ओरिजिनल भर्सनमा भने इन्द्रजित मिजार र भारती घिमिरेको आवाज रहेको थियो ।

मह सञ्चार र किरण केसीले निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’ को ‘भिजिट भिषामा’ गीत समेत करोड क्लव प्रवश गर्ने गीत बन्न सफल भएको छ । हरिबंश आचार्यको शब्दमा शम्भुजित बास्कोटाको संगीत रहेको यस गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

करोड क्लव प्रवेश गर्ने गीतमा हेमराज बिसी निर्देशित फिल्म ‘घामड शेरे’ को गीत ‘साली मन पर्यो’ समेत रहेको छ । रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत रहेको गीतमा प्रदीप लामा (द नेक्स्ट) को कोरियोग्राफी छ । गीतमा कालीप्रसाद र अश्मिता अधिकारीको स्वर छ ।

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को गीत ‘दुबो फुल्यो’ समेत करोड क्लव प्रवेश गर्ने गीत बनेको छ । एसडी योगीको संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्म र विल्सनविक्रम राई फिचर्ड छन् । गीतमा हर्क साउदको शब्द, हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर छ । गीतको भिडियोको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् । भने, कोरियोग्राफीको काम वाइल्ड रिपर्ज ग्रुपले सम्हालेको छ ।

फिल्म ‘छ माया छपक्कै’ को प्रमोसनल गीत पनि करोड क्लव प्रवेश गर्ने गीतको सुचीमा परेको छ । दुर्गेश थापाको हिट तीज गीत ‘बिच्च बिच्चमा’ लाई लिएर निर्माण टिमले गीतको भिडियो तयार पारेको थियो । भिडियोमा फिल्मका मुख्य कलाकार दीपक राज गिरि, केकी अधिकारी, सुपुश्पा भट्ट, जितु नेपाल, केदार घिमिरे, सुमन गिरी भान्जाको साथमा गायक दुर्गेश थापा फिचर्ड छन् । फिल्मकी सल्लाहकार दीपाश्रीलाइ समेत भिडियोमा देख्न सकिन्छ ।

फिल्म ‘म यस्तो गीत गाउछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरीपरी’ करोड क्लव परिवेश गर्ने अर्को गीत हो । गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको तथा संगीत संयोजन रिदम कडेलको रहेको छ । गीतमा सोनाम थोप्देन र अस्मिता अधिकारीको आवाज रहेको छ भने भिडियोमा फिल्मका मुख्य कलाकारहरु पूजा शर्मा र पल शाह रहेका छन् ।