अभिनेता तथा बिगबोस प्रतियोगी एजाज खान पक्राउ

फेसबुक लाइभको दौरान आपत्तिजनक टिप्पणी गरेको आरोपमा अभिनेता तथा बिगबोस प्रतियोगी एजाज खान पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीको अपराध शाखाले पक्राउ गरेको हो । प्रहरीले उनलाई धारा १५३ए, ११७ र १२१ अनुसार आरोप लगाएको छ । उनि यसअघि पनि कयौ पटक अरुको बारेमा नराम्रो बोलेको, पार्टीहरुमा लडाई झगडा गरेको साथै लागु पदार्थ राखेको आरोपमा पक्राउ परेका थिए ।

उनले फेसबुक लाइभमा भनेका थिए – “यदि एउटा कमिला मर्यो भने एक मुसलमान जिम्मेवार हुन्छ, यदि एउटा हात्ती मर्यो भने एक मुसलमान जिम्मेवार हुन्छ, यदि दिल्लीमा भुकम्प आयो भने एक मुसलमान जिम्मेवार हुन्छ । अर्थात् जुनसुकै घटनामा पनि मुसलमान जिम्मेवार हुन्छ । तर के तपाइले कहिल्यै सोच्नु भएको छ कि यो षडयन्त्रको लागि को जिम्मेवार छ ?” एजाजले भिडियो मार्फत बन्द्रा स्टेसनमा मानिसहरुको भिड जम्मा हुनुमा राजनीतिक पार्टीको दोष भएको पनि भनेका थिए ।

एजाज खान मुम्बईबाट विधानसभाको चुनाब पनि लडिसकेका छन् । चुनाबमा उनि नराम्ररी हारेका थिए साथै जमानत पनि जफत भएको थियो ।