यस वर्ष एसईई परीक्षा नहुने सरकारको निर्णय

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।

सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।स्रोतका अनुसार शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो ।

तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन ।
परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।

एसइई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो । तर अन्तिम समयमा चैत ५ गते साँझ कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिकले स्थगित गर्ने निर्णय गरेको थियो ।

चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । विश्वविद्यालयका परीक्षा पनि स्थगन गरिएका छन् । यसबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।