‘हामीले बलिउड र हलिउडको फिल्म मेकिङ पछ्याएर हुँदैन’

तत्कालिन अध्यक्ष केशव भट्टराईको ह्दयघातका कारण निधन भएपछि करिब ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा हालै फिल्म निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । कोरोना महामारीको समयमा नियुक्त भएर आइपुगेका उनीसमक्ष यो महामारीका कारण थलिएको नेपाली सिनेमालाई माथि उठाउनुपर्ने चुनौति त छँदैछ, सँगसँगै मारमा परेका फिल्मकर्मी, प्राविधिक र हल व्यवसायीहरूका लागि उचित राहत प्याकेज व्यवस्थापनमा समेत जुटिरहेका छन् ।

हामीले उनी बोर्ड अध्यक्ष नियुक्त हुनु केही दिनअघि उनीसँग उनको निर्देशन यात्रा, त्यो समय र अहिलेको नेपाली सिनेमाको चुनौतीलाई लिएर कुराकानी गरेका थियौँ । प्रस्तुत छ, त्यसको सम्पादित अंश :

वि.स.२०४७ सालभन्दा अगाडी नेपालमा मुस्किललले दुई वर्षको अन्तरमा एउटा चलचित्र बन्थ्यो । ०५४ सालमा मैले निर्देशन गरेको सिनेमा ‘ठूल्दाई’ सुपरहिट भएर म अत्याधिक व्यस्त हुँदासम्म मलाई मान्छेहरूले सोध्ने गर्थे– ‘चलचित्रमा काम गरेर भात खान पुग्छ त ?’

खासगरी चलचित्रमा काम गरेर घर–परिवार चल्ला भन्ने मान्यता थिएन । त्यतिबेला चलचित्रलाई पेशाको रुपमै हेरिँदैनथ्यो । फिल्म क्षेत्रमा कति रहरले, कति कलाकार बन्ने सपनाले त कति भारतमा सिकेर आएका हुन्थे ।

०४६ सालपछि बहुदलको स्थापनापछि नेपाली सिनेमा व्यवसायिक हुन्छ भन्ने अवधारणा देखियो । त्यतिबेला तुलसी घिमिरे, प्रकाश थापा, लक्ष्मीनाथ शर्मा लगायत सक्रिय थिए ।

०४४ सालतिर जतिबेला म फिल्ममा प्राविधिकदेखि सहायक निर्देशनसम्म अलराउन्डर काम गर्थे त्यतिबेला डेढवर्षमा मुस्किलले एउटा फिल्ममा काम गर्ने अवसर जुट्थ्यो । त्यतिबेला स्पटको कामदेखि निर्देशन सहयोगी सबै काम एक्लैले भ्याउनुपर्ने अवस्था थियो ।

त्यतिबेला १६ एमएममा सिनेमा बन्नुको कारण पनि लागत कम गर्नका लागि थियो । ०४६ सालपछिमात्रै नेपाली फिल्म पनि चल्छ है भन्ने अवस्था सिर्जना भएको हो । ०४७ सालमा मैले ‘दुई थोपा आँसु’मा असिस्टेन्ट भएर काम गर्दा क्यामेराम्यान, मेकअप म्यानहरू बम्बईबाट ल्याउनुपर्ने अवस्था थियो । झन् लाइटम्यानहरू त पाउनै गाह्रो थियो ।

खासगरी त्यतिबेला नेपालकै प्राविधिक जनशक्ति फिल्मका लागि तयार भइसकेको अवस्था थिएन, त्यसैले बम्बईमा निर्भर हुनुपथ्र्यो । कलाकारहरू पनि त्यतिबेला रहरले आउनेमात्रै थिए । धेरैजसो कलाकारहरु कि त कल्चर कार्यक्रममा नाच्थे, कि टिभीमा काम गर्थे

०४६ सालमा फिल्म ‘युगदेखि युगसम्म’बाट जब नेपाली फिल्म क्षेत्रमा राजेश हमाल आए, त्यसपछि हो नेपालमा सिनेमा निर्माणको क्रम बढेको । त्यसपछि ०४६ सालबाट ५० सालसम्म आइपुुग्दा १२–१३ वटा सिनेमा बन्ने अवस्था भयो ।

त्यतिबेला उन्नत प्रविधि भनेको सिनेमास्कोप ७२ एमएम हो । तर, हाम्रो औकात ३५ एमएमको रिल किनेर ल्याउन सक्ने थिएन । नेपालमा त ३५ एमएमको क्यामेरासम्म बम्बईबाट ल्याउनुपथ्र्यो । तर, विस्तारै १६ एमएमका क्यामेरा पनि आउन थाले । ट्रली, रिफ्लेक्टर आउन थाले । प्राविधिकहरू पनि सिक्दै अघि बढ्न थाले ।
५० सालपछि प्राविधिकको संख्या पनि हवात्तै बढ्यो ।
यद्यपी चलचित्र बनाउन सजिलो थिएन । ०५४÷०५५ सालसम्म त नेपालमा राम्रो गीत रेकर्डिङ स्टुडियो नै थिएन । हामी बम्बई गएर गीत रेकर्डिङ गथ्र्यौ । साउन्ड डबिङ गर्ने, इफेक्ट हाल्ने राम्रो ठाउँहरू यहाँ थिएन । हामीसँग प्राविधिक रुपमा काम गर्ने स्टुडियो नै थिएनन । ०५३ सालमा ‘दौँतरी’ फिल्मको गीत रेकर्डिङ गर्दा मैले राजेशपायल राईलाई रेल चढाएर गीत रेकर्ड गराउन बम्बई लगेको हो ।

०५६ सालपछि एभिड आयो । डिजिटल एडिटिङ सुरु भयो । त्यसपछि डिजिटल फिल्म बन्न थालेका हुन् । यद्यपी फेरि पनि भन्छु, ६० सालभन्दा अघिको समयमा चलचित्रलाई पेशागत रूपमा अपनाउने धेरै थोरै थिए ।

नेपालमा चलचित्र मेकर भएर बाँच्न सकिन्छ भन्ने अवधारण ०५६ सालपछि मात्रै स्थापित भएको हो । त्यसपछि वर्षमा १२–१५ सिनेमाले १ सय दिन मनाउने अवस्था सिर्जना भयो । ५० कै दशकमा चलचित्र गरेर बाँच्न सकिन्छ भनेपछि फिल्म क्षेत्रमा हिरो–हिरोइनको इन्ट्री पनि व्यापक भयो ।

चलचित्र सुपरहिट भएपछि अब प्रविधितिर ध्यान बढ्यो । ०५७ सालमा मैले ‘अर्जुन’ भन्ने सिनेमा एभिडमै एडिट गरेको हो । हामीकहाँ क्यामेराहरूको विकास त ६० सालपछि भएको हो । जब ‘कागवेनी’ भन्ने सिनेमा डिसिएनमार्फत बन्यो त्यसपछिमात्रै डिजिटलमा पनि सिनेमा बन्छ भन्ने अवस्था सिर्जना भयो ।

डिजिटलमा आएपछि नेपाली सिनेमाले प्राविधिक रुपमा ठुलो फड्को मार्यो । ६० एमएममा ब्लर गरेर धमिलो पर्दामा चलचित्र हेर्नुपर्ने बाध्यता हट्यो । नेपाली चलचित्रको इतिहासमा ०५४ सालदेखि ६० सालको समय त स्वर्ण काल नै मान्नुपर्छ । त्यति सफल सिनेमा त अहिले पनि निर्माण भएका छैनन् ।

पहिले हामी सिनेम्याटिक फम्र्याटमा चलिरहेका थियौँ । एउटा जमिनदार, एउटा भिलेनको काल्पनिक चित्र हामीले बनाएका थियौँ । तर अहिले सामाजिक चरित्रहरू खोजिन थाले । यद्यपी कन्टेन्टको नाममा खेती गर्ने क्रम त अहिले पनि घटेको छैन ।

हाम्रो समयमा भिलेन भन्नेवित्तिकै सुनिल थापा सम्झिन्थ्यौँ, जमिनदार भन्नेवित्तिकै मुकुन्दश्रेष्ठ । त्यसको जुँगा यस्तो हुनुपर्छ, टोपी यस्तो हुनुपर्छ अनि त्यसका पछाडी यस्ता गुन्डा उभिनुपर्छ भन्ने हुन्थ्यो ।

हामी आएका बेला त सिनेमा भनेकै हिन्दी र अंग्रेजी भन्ने थियो । हिरो भनेकै अमिताभ, मिथुन, धर्मेन्द्र भन्न थिए । सिरियल भन्नेवित्तिकै ‘रामायण’ भन्ने थियो । नेपाली सिनेमा पनि हुन्छ है भन्ने कुरा त त्यसपछि मात्रै स्थापित भएको हो ।

हामीकहाँ नेपाली सिनेमाको चरणवद्ध विकास भएको हो । हाम्रोजस्तो चरम गरिबी भएको देशमा प्रविधिको चरणवद्ध विकासलाई सुखद मान्नुपर्छ । त्यसैले हामीकहाँ रेड क्यामेरा, एट के क्यामेरा लगायत जस्तोसुकै प्रविधि भित्राएपछि पनि अन्तराष्ट्रियस्तरसम्म पुग्न अझै केही समय लाग्छ ।

यद्यपी एउटा सत्य के हो भने त्यतिबेला त्यसरी सुरु भएको नेपाली सिनेमा गुणात्मक हिसाबले आज पनि अगाडी आएको अवस्था देखिँदैन । केही चलचित्रले एक किसिमको क्रान्ति ल्याए । आफ्नै फम्र्याटको प्रयास पनि भयो । तर, अझै नेपाली सिनेमा विश्वमाझ स्थापित हुन भने सकेको अवस्था छैन ।

हलिउड र बलिउडको लगानी हामी गर्न सक्दैनौ । त्यो किसिमको प्रविधि हामी प्रयोग गर्न सक्दैनौँ । त्यसैल हाम्रै मौलिक कन्टेन्ट र कथ्य शैली नभएसम्म हामी विश्वबजारमा स्थापित हुन सक्दैनौँ । विश्वमा हामी प्रविधि देखाएर अघि बढ्न सक्दैनौँ, हाम्रै मौलिक कन्टेन्टमात्रै बेच्न सक्छौँ । त्यसैले हामीले बलिउड र हलिउडको फिल्म मेकिङ शैली पछ्याएर हुँदैन ।

यसमा केही प्रयासहरू हुँदै नभएका होइनन्, भइरहेका छन् । दीपेन्द्र के खनाल, निश्चल बस्नेत, मिन बहादुर भाम, दीपक रौनियार, रामबाबु गुरूङ आदि उदाहरण हुन् । उहाँहरूको सुरुवाती प्रयास राम्रो छ तर पर्याप्त भइसकेको छैन । हामीलाई मिनबहादुर भामहरूजस्तै एकजना मात्रै हुँदैन, ८–१० जना चाहिन्छ ।

हाम्रो अर्को विडम्बना के हो भने हाम्रो आधा जनसंख्याले नेपाली फिल्म हेर्दैन, न उनीहरूको भावना हामीले चलचित्रमा ल्याउन नै सकेका छौं । ‘छक्कापन्जा’जस्तो सिनेमा हिट भएरमात्रै हाम्रो इन्डष्ट्री टिक्दैन । कोरोनाको झड्काबाट जुर्मुराएर उठेपछि अब हामीले अन्तराष्ट्रियस्तरमा नेपाली सिनेमाको आफ्नै बेग्लै पहिचान स्थापित गर्ने सिनेमा बनाउनुपर्छ ।