‘छ माया छपक्कै’का निर्माता र वितरकबीच चल्यो द्धन्द

‘छ माया छपक्कै’ का फिल्म निर्माता र वितरकबीच आरोप पत्यारोले उग्ररुप लिएको छ । केहि दिन अगाडी फिल्म ‘ छ माया छपक्कै’का निर्माता रोहित अधिकारीले फिल्म वितरकले पैसा नदिएको गुनासो गर्दै फेसबुकमा स्टाटस लेखेपछि उग्ररुप लिएको हो ।

सामाजिक सञ्जाल मार्फत फिल्म वितरकले फिल्म हलबाट उत्रेको ८ महिनासम्म फिल्मको पैसा नदिएको बताएका थिए । फिल्म असोज २४ गते हलमा लागेर उत्रेको लामो समयसम्म फिल्म वितरक एफडी कम्पनीले अहिलेसम्म पैसा नदिएको आरोप निर्माता अधिकारीले लगाएका छन् । उनले राजधानी भित्र पचास लाख र राजधानी बाहिरबाट डेढ करोड रुपैयाँ आफुले लिन बाँकी रहेको बताए ।

रोहितले मेरो फिल्म डककमसँग कुराकानीमा , अहिले कोरोनाको कारण देखाउँदै फिल्म वितरक तर्किने गरेको बताए ।

यता फिल्म वितरक एफडी कम्पनिका एमडी सुशिल पोखरेलले भने,‘  फिल्म हलमा असोज २४ गतेबाट पुस २२ गतेसम्म फिल्म चलेको थियो । हलबाट फिल्म उत्रन नपाउँदै कोरोनाको त्रास र देशभर लागेको लकडाउनका कारण फिल्महलबाट पैसा उठाउन नपाएको हो । त्यस कारण समयमा नै पैसा दिन सकिएन । ’

उनले भने, ‘फिल्म हलबाट उत्रेको तीन महिनासम्ममा निर्मातालाई पेमेन्ट गर्ने नियम छ । तर फिल्म हलबाट उत्रेको तीन महिना नभई लकडाउन र कोरोनाभाइरसको महामारीका कारण सबैतिरबाट पैसा उठाउन ढिला भयो र निर्मातासँग गरेको सम्झौता अनुसार पैसा दिन ढिला भएको हो । हामीले तिर्नुपर्ने पेमेन्ट केहि समयपछि चुत्ता गर्नेछौँ ।’ उनले समयमा पैसा दिन नसकेको स्वीकारेका छन् । आफ्नो कम्पनीले पैसा दिन नसकेको भनेर निर्माताले सामाजिक सञ्जालमा लेख्दा नमज्जा लागेको बताए ।

सुशिलले भने, ‘ फिल्म वितरकले पैसा दिएन भन्ने कुरामा कुनै निर्माताले गुनासो गर्नु जायज कुरा हो । रोहितजीले गुनासो गर्नु स्वभाविक हो । तर सारा संसार नै एउटा अप्ठेरो परिस्थितीमा रहेको कुरा पनि सर्वबिदित नै छ । हलवालालाई पनि समस्या होला तर हामीले पनि लकडाउनको बेलाको भुक्तानी मागेको हैन । कोरोना र लकडाउनले गर्दा बास्तबिकता,ब्यवहारिक र मानवताको हिसाबले कति हललाई हामीले कडिकडाउ गर्न नसकेको र कतिपय पैसादिन सक्ने र कतिपय चलचित्र क्षेत्रको भिष्मपितामह देखिने सक्षम हलवालाहरु जसले यो परिस्तिथीको बहानामा पैसा नदिएको पनि हो । ’

निर्माता रोहितले मेरोफिल्म डटकमसँग कुराकानीमा भने ,’ हलबाट उत्रेको यत्रो महिना वितिसक्दा पनि पैसा नदिएर अहिले कोरोनोको महामारीका कारण देखाएर वितरक पन्छिन खोजेका छन् । उनीहरुसँगको कारोबार लकडाउन भन्दा धेरै महिना अगाडीको भएको हो । ’

‘छ माया छपक्कै’का निर्माता तथा एफडी कम्पनीका सदस्य समेत रहेका अभिनेता दिपकराज गिरी भन्छन्,‘यसमा फिल्म वितरकको दोष रहेको छ । यसमा म आफै पिडित रहेको छु ।’  दीपकले आफु एफडी कम्पनीको सदस्य मात्र रहेको र यसको कारोबार आफुमा नरहेको बताए । फिल्म हलबाट उत्रेको तीन हप्ता देखि तीन महिनाभित्रसम्ममा पैसा निर्मातालाई दिने भन्ने हुन्छ तर अहिलेसम्म नपाउनुमा हलवाला र फिल्म वितरकको कमजोरी भएको उनको तर्क रहेको छ । यसको जिम्मेवारी वितरक कम्पनीले लिनुपर्यो उनको भनाई छ ।

उनले भने, ‘क्यास कारोबार गरिसकेपछि हलवालाले एक महिनाभित्रमा सबै पैसा दिइसक्नु पर्ने हो । तर हलवाला यसको मामिलामा गम्भिर भएनन् ।’ आफै पिडित भएको कारणले यसबारेमा आफु खासै नबोल्ने पनि बताएका छन् । निर्माता दिपकले भने, ‘नेपालमा फिल्म चलेको एक बर्षसम्म नि पैसा नदिने बानी छ ,एफडी पनि त्यसकै पिडामा छ । कतिवटा हलहरुले पैसा चलाउछन्,अनि त्यो पैसा चलाइसकेपछि दिने बेलामा आनाकानी गर्ने गरेका छन् । ’

निर्माता रोहितको भनाई भन्दा र वितरक सुशिलको भनाईमा फरक देखिएको छ । रोहितले दुइ करोड लिन बाँकी रहेको बताएका छन् भने वितरक सुशिलले ८०–९० लाख लिन बाँकी रहेको बताएका छन् । वितरक सुशिलका अनुसार फिल्म ‘छ माया छपक्कै’ले अव करिव ८० – ९० लाख लिन बाँकी रहेको छ । उनले भने रोहितको कम्पनिले डाईरेक्ट बिल काटेको बाहेक एफ.डी कम्पनीले दिनु पर्ने ५८,००,००० र बाँकी केहि रकम रहेको छ ।  उनले अहिले समस्याका कारण पैसा दिन ढिला भएकोमा माफी समेत मागेका छन् । उनले आफ्नो नियतमाथी शंका र एफ.डी कम्पनीको प्रतिष्ठामाथी आच आउने काम कसैबाट हुन नदिने समेत बताएका छन् ।