केकीलाई हिट ब्यानरको लोभ

कलाकारले आफू खेलेर हिट फिल्म दिने हो या हिट ब्यानरमा खेलेर आफू हिट हुने हो ? कोही हिट फिल्म दिएर आफू हिट हुन्छन्, कोही हिट ब्यानरमा खेलेर हिट भएको लड्डु खान्छन् ।  अभिनेत्री केकी अधिकारीले विच्छेद फिल्म खेल्ने भनेर संझौता गरेर फेरि नखेलेको कुराले हिट ब्यानरको लोभको पछि लागेको भन्न सकिएला ।

सत्यराज चौलागाइको निर्देशनमा बनिरहेको विच्छेदमा खेल्ने पक्का भएको थियो केकीको । केकीले परदेशी २ फिल्म पनि खेल्ने भइन् । दुबै फिल्मको छायांकन समय जुध्यो । केकीले एउटा छाड्नुपर्ने अवस्था आयो । छाडिदिइन् विच्छेद । विच्छेद नयाँ नाम थियो । परदेशी २ हिट भैसकेको फिल्मको सिरिज । करिअरमै छ माया छपक्कै खेलेर हिट भएको आभाष गरिरहेकी छिन् केकी । यही भएर सत्यराजलाई पत्याउनुभन्दा उनले हिट फिल्मको सिरिज र निर्देशक नारायण रायमाझीलाई पत्याएकी थिइन् ।

तर, खेल्छु भनेर फिल्ममा संझौता गरेपछि अर्को फिल्म आयो, समय जुध्यो भनेर पहिले संझौता गरेको फिल्म छाडेर हिड्दा त्यसका निर्मातालाई पर्ने प्रेसरको बारेमा त केकी जस्ता कलाकारले वुझ्न पर्ने थियो । तर, सबैलाई हिट भएको टिममा गएर हिट हुने लोभ त छ ।