कात्तिकको पहिलो साताबाट ‘ऐना’ प्रसारण हुँदै

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागेको कार्यक्रम ’ऐना’ को लोगो सार्वजनिक भएको छ । एक कार्यक्रमको आयोजना गरी कार्यक्रम ’ऐना’को लोगो सार्वजनिकसँगै कार्यक्रमका प्रायोजक र ’ऐना’ टिमबारे जानकारी दिइएको हो ।

२६ इपिसोडको प्रसारण हुने कार्यक्रम ’ऐना’ सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने एउटा ’टेलिभिजन शो’ हो । जसलाई दी होराइजन मल्टिमिडिया प्रालीले निर्माण गर्न लागेको हो ।

कार्यक्रम कात्तिक पहिलो सातादेखि हरेक हप्ता एक घण्टा प्रसारण हुनेछ । कार्यक्रम ’ऐना’का प्रोजेक्ट हेड राधाकृष्ण धितालले ऐना विशुद्ध सामाजिक मुद्दामा मानवीय पक्षलाई प्राथमिकतामा राखेर निर्माण हुने बताए ।

निर्देशक अमनप्रताप अधिकारीका अनुसार नेपाली समाजमा मानिसका अथाह दुःख र पीडा छन् ती घटनाका रुपमा त आउँछन् तर किन यस्तो भइरहेको छ भन्ने खोजीमा कार्यक्रम निर्माण गर्न लागिएको हो । कार्यक्रमका प्रोड्युसर जनक पौड्यालले कार्यक्रमले सामाजिक र मानवीय सवालहरु जसले व्यक्ति, परिवार, समुदाय वा राष्ट्रलाई कस्तो असर पारिरहेको छ भन्ने यथार्थ चित्र प्रस्तुत गर्ने बताए ।