पुजा र प्रकाशबीचको विवाद टुंगियो , मिलेर जाने सहमती

अभिनेत्री पूजा शर्मा तथा सञ्चारकर्मी प्रकाश सुवेदीबीचको विवाद सकिएको छ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा तयार पारिएको सहमति पत्रका सुवेदी र शर्माले हस्ताक्षर गरेपछि दुवै पक्षबीचको विवाद टुंगिएको हो ।

सहमतीका लागि चलचित्र कलाकार संघ अध्यक्ष रबिन्द्र खड्कासहित केही चलचित्रसंग सम्बन्धि संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । हिजो भएको लान्छना लगायतका गल्ति फेरि नदोहोरियोस् भनेर लवैपक्षलाई राखेर सहमती गरिएको कलाकार संघका अध्यक्ष खड्काले जानकारी दिए ।

दुइसाता अघि ‘रजतपट’का प्रस्तोता सुवेदीले आफ्नो कार्यक्रममा एक अभिनेत्रीप्रति इंगित गर्दै शारीरिक टिप्पणी गरेका थिए । ‘मैले करिश्मा मानन्धरको पुस्ता पनि देखेँ, रेखा थापा, सञ्चिता लुइटेल आदिको पुस्ता पनि देखेँ । त्यसपछि ऋचा, नम्रता, केकी, नीताहरुको पुस्ता पनि देखियो । हुँदा–हुँदा स्वस्तिमा, आँचल, वर्षा र साम्राज्ञीहरुको अन्तर्वार्ता पनि लिँदै हिँड्नु परेको छ यतिखेर ।

चार पुस्ता देखेको छु, ठीकै छ, पाँचौँ पुस्ताको अन्तर्वार्ता पनि मेरै खप्परमा लेखेको छ कि, हैन त!’,’ उनी अहंका साथ कार्यक्रममा भनेका थिए, ‘अन्तर्वार्ता दिने पनि आफैँ, बोल्ने पनि आफैँ, नआउने पनि आफैँलाई अनि हामीलेचाहिँ लिएको अन्तवार्ता काटिदिनुपर्ने मिलाई–मिलाई । महानायिका बनाइदिनुपर्ने दारा निस्केको अनुहारलाई । कति हाँस्नु ! ’

यो सुनेपछि अभिनेत्री पुजाले आफुलाई नै भनेको हो भनेर कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी विरुद्ध चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ, प्रेस काउन्सिल, चलचित्र पत्रकार संघ लगायत विभिन्न संघ–संस्था तथा सरकारी निकायमा उजुरी गरेकी थिइन् । चलचित्र कलाकार संघ , निर्माता संघ ,प्राविधि लगायत सातै संघले ‘रजतपट’ कार्यक्रम बहिस्कार गर्ने विज्ञप्ती जारी गरेका थिए ।  त्यसको चौतफी बिरोध आएपछि दुवैबीच सहमती गराइएको हो । तर यो सहमतीबाट अभिनेत्री पुजा खुसी नरहेको कुरा बाहिर आएको छ ।