पाहुनाको रोजाईमा ‘होटल क्राउन हिमालयज’ र ‘ट्राभलर्स च्वाईस अवार्ड’

युवा व्यवसायी आग्रह अर्याल सञ्चालक रहेको ‘होटल क्राउन हिमालयज’ पाहुनाहरुको रोजाईमा परेको छ । पाहुनाहरुले मन पराएकै कारण होटलले यस वर्ष ‘ट्राभलर्स च्वाइस अवार्ड’ प्राप्त गर्न सफल भएको छ । वर्षेनी ट्राभलर्स च्वाइस अवार्ड प्रदान गर्दै आइरहेको प्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले पोखराको होटल क्राउन हिमालयजलाई यस वर्ष उक्त अवार्ड प्रदान गरेको हो ।

अवार्ड पाउँदा निकै हर्षित महसुस भएको सञ्चालक अर्यालले आर्थिक आवाजलाई बताए । ‘यो अवार्ड पाउनुको श्रेय हाम्रा पाहुनाहरुको माया र कर्मचारीहरूको अथक मेहनत हो,’ उनले भने, ‘देश, विदेशबाट होटलमा आउनुहुने पाहुनाहरु प्रति क्राउन हिमालयज परिवार निकै आभार व्यक्त गर्दछ ।’ आगामी दिनमा होटलले प्रदान गर्ने सेवा तथा आतिथ्यतालाई अझ बढी पाहुनामैत्री बनाउने समेत अर्यालले प्रतिबद्धता व्यक्त गरेका छन् ।

होटल क्राउन हिमालयज सन् २०१० बाट शुरु भएको हो । स्वदेशी तथा विदेशी दुवै पर्यटक होटलमा आकर्षित हुने गरेको आग्रह बताउँछन् । ‘हामीले दुवै खालका पर्यटकलाई उच्च प्राथमिकता दिएर सेवा सुविधा प्रदान गरिरहेका छौं,’ उनी भन्छन्, ‘पूर्ण पारिवारिक वातावरणमा पर्यटकलाई स्वागत सत्कार गर्छौं ।’

थ्रि स्टार सरहको सेवा सुविधा प्रदान गर्न सफल होटलमा सिङ्गल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स कोठाहरु छन् । ‘सेवाग्राही तथा पर्यटकले आफ्नो इच्छा अनुसार कोठा लिन सक्छन्,’ उनले भने । होटलमा ३८ वटा कोठा छन् । १ सय २० जना भन्दा बढी पर्यटकलाई एकैसाथ सेवा प्रदान गर्न सकिने आग्रहले जानकारी दिए ।