कलाकारको माग कुलमान

हिजो एकाएक सामाजिक सञ्जालमा विद्युतप्राधिकरणका कार्यकारी निर्देशक भाइरल भए । उनको ४ बर्षको कार्यकाल सकिनै लाग्दा एकाएक उन पुन: विद्युत प्राधिकरणमा नियुक्ती भएको खबरले हल्ला हल्ला मात्रै गरेन । उनलाई बधाई दिनेको ओइरो नै लाग्यो ।

धेरैले आज बसेको मन्त्री परिषद्को निर्णयले कुलमानलाई नियुक्ती गरेको भन्दै केपी शर्मा ओलीको सरकारलाई धन्यबाद दिनेको कमी दिएन । तर जति हल्ला फिँजिए ,ति सबै हल्ला मात्र थियो । यसका पछि नेपाली सेलिब्रेटी पनि नमज्जाले दौडिए । उनीहरुले पनि कुलमान घिसिङलाई बधाईदिने र नेपालको असली हिरो भन्दै सामाजिक सञ्जाल भराए ।

यसरी पहिलो बधाई दिएर भाइरल गराउने अभिनेता तथा निर्माता थिए ,दीपकराज गिरी । उनले स्टाटस लेखेपछि धेरैले उनैको स्टाटस सेयर गरे भने उनैको स्टाटस हेरेर कुलमानलाई बधाई दिए । उनले सामाजिक सञ्जालमा ‘आज बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिगं लाइ नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ ! सरकार संग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको बिकल्प छैन ।’ उनले यसरी लेखेपछि उनको कपी नगर्ने कुरै भएन । तर उता मन्त्री परिषद्मा यसबारेमा कुनै सल्लाहै भएको थिएन ।

सामाजिक सञ्जालमा चौतर्फी कुलमानको तस्विर सहित छाउन थालेपछि सदावहार अभिनेत्री करिष्मा मानन्धरले पनि चुप लागेर बस्न सकिनन् । उनले पनि कुलमानसँग खिचेको तस्विर सहित स्टाटस लेख्न कन्जुस्याँइ गरिनन् । कुलमानसँग खिचेका दुई तस्बिर फेसबुकमा पोस्ट्याउँदै अभिनेत्री करिश्मा मानन्धरले लेखेकी छन्, ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमान घिसिङ फेरि चाहिन्छ ।’
एकपछि अर्को गर्दै विस्तारै सामाजिक सञ्जाल कुलमानमय भयो ।

बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले पनि स्टाटस बजाइहाले । उनले उज्यालो ल्याउनेलाई सम्मान गर्न आग्रह गर्दै ,‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी – खोजी हटाउनु पर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । उहाँको उर्जाले देशको उर्जा बढ्छ ।’

नेपाली सेलिब्रेटीले हरेकको चाहाना कुलमान नै नियुक्त हुनुपर्छ भन्ने देखिन्छ । यसरी स्टाटस लेख्दै बधाई दिने सेलिबुेटीको कमी देखिएन । अभिनेता अनुप विक्रम शाही, स्वस्तिमा खड्का, वर्षा राउत, मनिष श्रेष्ठ ,केकी अधिकारी लगायतले कुलमानकै समर्थन जनाएका थिए ।

अभिनेत्री केकी अधिकारी अनलाईन खबरको समाचार सेयर गर्दै लेखेकी छन्–‘निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ । ’ त्यस्तै नेपाली गायन क्षेत्रका हस्तिहरुले पनि कुलमानको समर्थन गर्दै सामाजिक सञ्जालमार्फत स्टाटस लेख्न भ्याए ।