नेपाली डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान’ले रसियामा उचाल्यो प्रथम पुरस्कार

नेपालमा बनेको बहुपति प्रथाका बारेमा बनेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले रसियामा प्रथम पुरस्कार प्राप्त गरेको छ ।रसियामा गत अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा फिल्म ‘सहायक श्रीमान’ले प्रथम पुरस्कार जित्न सफल भएको हो । नेपालमा पहिला हुने गरेको बहुप्रति प्रथाका कथामा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’लाई निर्णायक मण्डलले प्रथम पुरस्कार प्रदान गरेका थिए ।

त्यस फेस्टिफलमा नेपाल ,रसिया, अमेरिका लगायत देश देशका फिल्म सहभागी भएका थिए । विभिन्न देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै फिल्म ‘सहायक श्रीमान’ लाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरेको छ । उत्त प्रतिस्पर्धामा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको छ ।

फिल्म ‘सहायक श्रीमान’लाई निर्देशक गणेश पाण्डेले निर्देशन गरेका हुन् । उनले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै भने– ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीहरुका लागि ठूलो सम्मान हो।’

फिल्म ‘सहायक श्रीमान’ ३५ मिनेटको डकुमेन्ट्री हो । जुन फिल्ममा कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ ।