असोज दुई गतेदेखि ‘डान्सिङ वीथ द स्टार नेपाल’को प्रसारण शुरु

बिश्व नम्बर एक डान्सिङ रियालिटी सो डान्सिङ वीथ द स्टारको नेपाली संस्करण ‘डान्सिङ वीथ द स्टार नेपाल’को प्रसारण असोज दुई गतेबाट सुरु हुने भएको छ । कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हरेक शुक्रबार र शनिबार साँझ आठ बजेदेखि हेर्न पाउने भएका छन् ।

चैतबाट नै रियालिटी शो गर्ने तयारी भएता पनि कोरोना महामारीका कारण सुटिङ सुरु हुन पाएको थिएन । जसका कारण रियालिटी शो ‘डान्सिङ विथ द स्टार नेपाल’ सरेको सरै थियो । अव भने कोरोना कहरकै बीचमा मनोरञ्जन प्रदान गर्ने हेतुले प्रसारण सुरु हुन लागेको हो ।

‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो । सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं , कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने ।’ रियालिटी शो २६ शृङखलाको हुने छ भने कार्यक्रममा १२ जना स्टार कलाकारले एक–एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिन पाउने छन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ ।

कार्यक्रमलाई हिमालय टेलिभिजनबाट प्रसारण हुने छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी सुटिङ गरिने निर्माणले जानकारीदिएको छ । डान्सिङ विथ द स्टारको पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको , फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, कलाकार रक्षा श्रेष्ठ, अभिनेत्री सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, नायिका पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता र लोकप्रिय बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् ।

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ ।

अनस्क्रिन प्रतिस्पर्धासँगै हुने स्क्रिन बाहिरका गतिबिधिले दर्शकलाई नृत्यमार्फत शारिरिक तथा मानसिक स्वास्थ्य मजबुद बनाउन सहयोग पुग्ने टेलिभिजनले बिश्वास लिएको छ । दर्शकहरूको भोट र निर्णायकहरुको मुल्याङ्कनका आधारमा हरेक हप्ता एक जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

नेपालको अग्रणी बिजनेस ग्रुप आइएमइले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने एनएमबी बैङ्क र गोदरेज नम्बर वान पावर्डबाइ स्पोन्सर रहेका छन् । असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाललाइफ इन्स्योरेन्स, डावर अमला, सेन्सोडाइन अनलाईन खबर, नेपालहोम्स डटकम सहभागी भएका छन । आफ्ना मनपर्ने स्टार कन्टेस्टेन्टलाई आइएमई पे को एप्स डाउनलोड गरी भोट गर्न सकिनेछ ।

हिमालय टेलिभिजन एचडीले ‘द भ्वाइस अफ नेपाल’ ‘द भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता बिश्वचर्चित रियालिटी सोहरु प्रसारण गर्दै आइरहेको छ । डान्सिङ वीथ द स्टार्स प्रसारण सुरु भएसँगै भ्वाइस अफ नेपाल सिजन तीन को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।