अधुरै रह्यो ‘हुतुतु’ गर्ने सपना

फिल्मका लेखक तथा निर्देशक छेतेन गुरुङको गए राति २ बजे निधन भएको छ । लिभरमा अचानक समस्या देखिएपछि उनलाई दुई दिन अगाडि अर्थात् मंगलबार राति नै मेट्रो हस्पिटल महाराजगञ्जमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको दुइ दिन नबित्दै उनको निधन भयो । ४२ बर्षिय छेतेनले फिल्म ‘नोभेम्बर रेन’ बाट फिल्म लेखनमा हात हालेका थिए ।

कोरियन फिल्मबाट विशेष प्रभावित उनले ‘क्लासिक’, ‘डायरी’ ‘ए मेरो हजुर ३’आदि फिल्मको पनि पटकथा लेखेका थिए । सुरुदेखि नै निर्देशनमा रुची भएका छेतेनले फिल्म ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका हुन् । उनको लेखन तथा निर्देशन रहेका नयाँ फिल्म ‘प्रेम गीत ३’ भने प्रदर्शन हुन पाएको थिएन । गत सालको चैत अन्त्यमा रिलिज गर्ने भनिएता पनि कोरोना महामारी तथा देशभर लागेको लकडाउनका कारण प्रदर्शन रोकिएको थियो ।

उनी यो फिल्मको प्रदर्शन मिति टुंगो नलाग्दै नयाँ फिल्मको लेखन तथा निर्देशनको तयारीमा रहेका थिए । निर्माता तथा निर्देशक सन्तोष सेन र उनी मिलेर मल्टीस्टारर फिल्म ‘हुतुतु’ नामक फिल्म निर्देशनको तयारीमा थिए । देशभर लागेको लकडाउन खुल्ला हुनासाथ फ्लोरमा जाने तयारीमा रहेको ‘ हुतुतु’ले फिल्मका लागि केही कलाकारलाई पनि अनुबन्ध गरिसकेको थियो । मनाङ मुलथलो भएका छेतेन सिनेमामा प्रवेश गर्नुअघि सिंगापुरमा मुगाको व्यापार गर्थे । तर, त्यो व्यवसायमा घाटा लागेपछि उनको रुची सिनेमातर्फ मोडिएको थियो । सानै उमेरमा विवाह गरेका उनको श्रीमती केहि बर्ष अगाडी नै वितिसकेकी छन् भने अहिले घरमा  आमा र छोरी मात्र रहेका छन् । ।

उनको अप्रत्यासित निधनमा फिल्म क्षेत्र स्तब्ध भएको छ । फिल्मकर्मीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै उनको निधनले शोकाकुल बनाएको प्रतिक्रिया दिएका छन् । ‘डमरुको डण्डिबियो’मा छेतेनसँगै काम गरेका कलाकार अनुप बरालले उनको निधनमा शोक व्यक्त गर्दै लेखेका छन्, ‘तिमीले र मैले सुटिङको कुनै दिनमा एयरफोनको एउटा हेड समातेर ‘लास्ट अफ मोहीकान’को टाइटल ब्याकग्राउन्ड स्कोर सुनेको सम्झिरहेछु । छेतेन तिमी सरल थियौ , आफ्नो काममा कल्पनाशील र केही मजबुत धरातल निर्माण गर्ने कोशिसमा थियौ ।

तिम्रो आत्माले शान्ति पाओस् ।’ त्यसैगरि उनीसँग ‘नोभेम्बर रेन’मा सँगै काम गरेका लेखक सामीप्य तिमल्सेनाले उनको जीवन नै उतारचढावयुक्त रहेको स्मरण गर्दै उनको लेखनमा भने कोरियन फिल्मको गहिरो प्रभाव रहने गरेको संकेत गरेका थिए । उनको आजै अन्तिम संस्कार गरिने परिवार निकट स्रोतले बताएको छ ।