सेनाको लघु फिल्म प्रतियोगितामा ‘देशलाई छुने पाइला’ बन्यो विजेता,

नेपाली सेनाको आयोजनामा भएको ‘लघु फिल्म प्रतियोगिता २०७६’ को नतिजा सार्बजनिक भएको छ । लघु फिल्म प्रतियोगितामा प्रसुन सिन्धुलियाको ’देशलाई छुने पाईला’ प्रथम घोषित भएको छ । त्यस्तै पुरुषोत्तम बस्नेतको ’रगत’ फस्र्ट रनरअप र बसन्त शर्मा अधिकारीको ’लक्ष्य’ सेकेन्ड रनरअप भयो ।

यी तीन फिल्महरुले क्रमशः रु. २ लाख, रु. १ लाख ५० हजार र रु. १ लाख नगद पुरस्कार स्वरूप प्राप्त गरेका छन् । त्यसैगरी अनिरुद्ध दुवाडीको ’समर्पण’ पुरस्कार प्राप्त गर्यो भने अनिल कुमार महर्जनको ’गौरव’ ले सान्त्वना पुरस्कार जित्यो । फिल्म ‘समर्पण’ र ‘गौरव’ले नगद रु. २५ हजार प्राप्त गरे ।

प्रतियोगितामा ३८ स्क्रिप्टहरु दर्ता भएका थिए । ३८ स्क्रिप्ट मध्येबाट १० वटालाई दोस्रो चरणको लागि छनोट गरीएको थियो । १० फिल्मबाट ५ वटा छानिएको थियो र जुरीहरुले त्यसैबाट उत्कृष्ट ३ फिल्मको छनोट गरेका थिए । कार्यक्रम भद्रकालीस्थित अडीटरियम हलमा भएको थियो । उक्त कार्यक्रममा आर्मी स्टाफ प्रमुख जेनेरल पूर्ण चन्द्र थापाले विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सेनाका उच्च पदस्थ अधिकारीहरु, जुरी र सहभागी फिल्मका फिल्मकर्मीहरुको सहभागिता रहेको थियो ।