प्राइम टिभीद्धारा स्वर्गीय पत्रकार तथा फिल्म सम्पादक अनिल गौतमको नाममा पुरस्कार स्थापना

प्राइम टाइम्स टेलिभिजनका भिडियो सम्पादक अनिल गौतमको निधन भएको १३औं दिनको पुण्य तिथिको अवसरमा पुरस्कार स्थापना गरिएको छ । टेलिभिजनले बुधबार श्रद्धान्जली सभाको आयोजना गर्दै पुरस्कारको घोषणा गरेको हो ।

सभालाई सम्बोधन गर्दै टेलिभिजनका अध्यक्ष ऋषि धमलाले अनिल गौतम स्मृति पत्रकारिता पुरस्कारको घोषणा गर्दै २० हजार १ रुपैयाँ राशीको पुरस्कार स्थापना गर्ने घोषणा गरे । उक्त पुरस्कारबारे जानकारी दिँदै टेलिभिजनका अध्यक्ष धमलाले विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा संचारकर्मीको योगदानको आधारमा उक्त पुरस्कार वितरण गरिने बताए ।

पुरस्कार टेलिभिजनको स्थापना दिवस जेठ १५ गते हरेक वर्ष प्रदान गरिने पनि जानकारी दिए । त्यसैगरी, टेलिभिजनका महाप्रबन्धक बैकुण्ठ ढुंगानाले गौतमको लगशिलता र अनुशासन सबैका लागि अनुकरणीय भएको बताए । कार्यालयमा काम गरेर घर फर्कने क्रममा सवारी दुर्घटनामा परी गौतमको गत भदौ २६ गते राति निधन भएको थियो ।