फिल्म क्षेत्र खोल्न सकारात्मक मुडमा ‘सीसीएमसी’,तर कहिले खोल्ने ?

छ महिना देखि ठप्प रहेका फिल्म हल खुलाउने पक्षमा ‘सीसीएमसी ’ सकरात्मक देखिएको छ । सरकारले असोज पहिलो हप्ताबाट भीडभाड हुने सवारी साधन, हवाई क्षेत्र सञ्चालनको अनुमति दिएको छ । सबै क्षेत्र खुल्ला राखेपनि फिल्म क्षेत्र खोल्ने विषयमा सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

फिल्मकर्मीहरु फिल्मको रिलिज मिति तोकिरहेता पनि फिल्म हल खुलाउने पक्षमा सरकारले कुनै निर्णय लिएको छैन । फिल्म हल नचलेर फिल्म प्रदर्शन गर्न नपाएका फिल्मकर्मीहरु फिल्म चलाउनका लागि माग अगाडी सार्न थालेका छन् । दसैँ तिहार नजिकीदै गर्दा फिल्म प्रदर्शनको वातावरण बनाउन अहिले नेपाली फिल्मसँग आबद्ध संघ संस्थाहरुले पहल गरिरहेका छन् ।

फिल्मसँग आबद्ध चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघका अध्यक्षहरुले बुधवार कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को टिमसँग भेट गरेर फिल्म निर्माण तथा प्रदर्शनको अनुमति दिन आग्रह गरेका छन् । फिल्मकर्मीको आग्रहलाई ‘सीसीएमसी’ सकारात्मक देखिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । तर कहिले फिल्म क्षेत्रलाई खुलाएर चलायमान बनाउने भन्ने कुरा ठोस निर्णय लिएको भने छैनन् ।