प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक

चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बनेका गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ । गाउँको परिवेशमा बनेको यो भिडियोमा माया तथा स्नेह देख्न सकिनेछ । बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमीलाई’ मा दुर्गाप्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ ।

गीत तथा भिडियोमा सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी कैलाश रेग्मीले लिएका थिए । संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । भिडियोका निर्माता तथा गीतकार दुर्गाप्रसाद कडरिया आफै रहेका छन् । यस भिडियोलाई निर्देशन भने रिकेश बज्राचार्यले गरेका छन् । नवराज सिंह खड्का र प्रतिशा रिजाल फिचर्ड छन् । झापाली गीतकार कडरियाले आफ्नो आठौँ सांगितिक कोसेलीको रुपमा यो गीत बजारमा ल्याउन लागेको जानकारी दिएका छन् ।

गीतकार कडरियाले हालसम्म प्रमोद खरेल, सीएल शर्मा, सज्जा चौलागाई, प्रेम शर्मा र नरेन्द्र प्यासीको स्वरमा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । गीतकार कडरियाका दुईवटा लिरिकल भिडियो र पाँचवटा म्यूजिक भिडियो सार्वजनिक भइसकेकोछ । कडरियाले म्यूजिक भिडियो दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।