कार्यक्रम ‘जातको प्रश्न’ले हमाल विवादमा

अभिनेता राजेश हमाल विवादमा तानिएका छन् । समता फाउन्डेसनको लगानीमा हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका हुन् ।

हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक संजाललगायत चारैतिर चर्काे विरोध हुन थालेका छन् ।

विगत तीन महिनादेखि कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार साँझ साढे ६ बजे ‘जातको प्रश्न’ कार्यक्रम प्रशारण हुँदै आइरहेको छ । समता फाउन्डेसन र क्रिश्चियन एड नेपालको सहकार्यमा सञ्चालन हुँदै आइरहेको यो कार्यक्रमका प्रस्तोता हुन्, अभिनेता राजेश हमाल ।

यही कार्यक्रम र प्रस्तोता हमालविरुद्ध केही दिनयता सामाजिक सञ्जाल र सडकमा विरोधका अवाजहरु सुनिन थालेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राख्दै आएका थिए ।

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै  आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो । तर कार्यक्रम हिन्दुबिरोधी भएको भन्दै बिरोध हुन थालेको हो ।

कार्यक्रमले हिन्दूत्वमाथि आँच पुर्याएको भन्दै कार्यक्रमको विरोध भएको छ । सामाजिक सञ्जालमा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार भएको भन्दै टिप्पणी हुन थालेको छ ।

मानिसहरुले यस कार्यक्रम र राजेश हमालविरुद्ध नारावाजी गर्दै उनीहरुका पोस्टर जलाइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । यसका अलावा सामाजिक सञ्जालमा लेखेर पनि कार्यक्रम र  प्रस्तोता हमालको विरोध भइरहेको छ ।

कार्यक्रमको विरोध जनाउँदै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका छन् ।

‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि निसानामा परेका छन् । हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ ।  हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज समेत गुन्जन थालेका छन् ।

‘जातको प्रश्न’ को विरोध हुनुको मुख्य कारण हो– यो कार्यक्रमलाई क्रिश्चियन एड नेपालले प्रायोजित गर्नु । यो कार्यक्रम नेपालमा धार्मिक र जातीय द्वन्द्व सिर्जना गर्न बनाइएको आरोप  आलोचकहरूले लगाइरहेका छन् । अभिनेता राजेश हमालले ‘क्रिश्चियन मिसन’ बाट पैसा लिएर नेपालमा धार्मिक र जातीय द्वन्द्व निम्त्याउन सहयोग गरेको आरोप लगाएका छन् ।

विरोधमा उत्रिएकाहरुले नेपालीमा धार्मिक हिंसा भड्काउन कार्यक्रम सञ्चालन गरेको आरोप लगाएका छन् । यो कार्यक्रममा क्रिश्चियन एड नेपालको लगानी रहेकाले यसलाई जोडेर कतिपयले नेपालमा जातीयतामाथि प्रहार गर्नका लागि यो कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् ।

कार्यक्रममार्फत हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले बताउँदै आएका छन् । नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने माग यादवको रहेको छ ।

यता समता फाउन्डेसनले भने एक विज्ञप्ति जारी गर्दै कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको जनाएको छ ।

कार्यक्रम निर्माता समता फाउन्डेसनले यो कार्यक्रम निर्माणमा ‘क्रिश्चियन एड’ ले सघाइरहेको तथ्यलाई अस्वीकार गरेको छैन । फाउन्डेसनले त कार्यक्रम प्रशारण गर्ने आफ्नो युट्युब च्यानलमै स्पष्टसँग लेखेको छ– यो कार्यक्रम समता फाउन्डेसन र क्रिश्चियन एड नेपालसँगको सहकार्यमा सञ्चालन हुन्छ ।

तर, समता फाउण्डेशनले कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति संस्था पूर्वाग्रही नरहेको दावी गरेको छ ।

विज्ञप्ति निकालेर समता फाउन्डेसनले कार्यक्रमको उद्देश्यबारे प्रस्ट्याउने कोसिस गरेको  छ । फाउन्डेसनले कार्यक्रम कुनै जात धर्म विशेषका लागि भन्दा पनि जातीय हिंसा र विभेदबारे सचेतना जगाउने उद्देश्य रहेको जानकारी दिएको छ  ।

‘दलित समुदायविरुद्ध भइरहेको यी श्रृंखलावद्ध हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको संस्कृति बढाउनका लागि समता फाउन्डेसनले जातको प्रश्न नामक टिभी उत्पादन गरेको हो,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको र युट्युबमा समता फाउन्डेसनको आधाकारिक च्यानलबाट प्रसारण गरिएको ‘जातको प्रश्न’ मा नेपालमा वर्ण व्यवस्था, समाजमा दलितमाथि हुने छुवाछुत जस्ता प्रश्नहरु सोध्ने गरिन्छ ।