कलाकारले युट्युब च्यानले किन खोल्ने ?


इन्स्टाग्राममा लाखौ फलोअर्स छन् । फेसबुकमा दैनिक फोटो आएका छन् । गोप्यता जिरो छ । जान, खान र हिड्न स्टार अनुहारले छेक्दैन । छोटो भिडियो हरेक दिन पोष्ट भएका छन् । युटुबमा अन्तरवार्ता आएको आई नै छ ।

भिडियो उस्तै खेलेका छन् । बाँकी त केही पनि छैन । दर्शकले हलसम्म नपुगेपनि कलाकारलाई हेरेका छन् । कलाकारको टिकटक भिडियो बनेको छ । अभिनय हेर्न टिकटक र भिडियो । फोटो हेर्न इन्स्टाग्राम र फेसबुक । बाँकी के छ र लुक्न । नेपाली फिल्मका कलाकारको अवस्था यस्तो छ ।

अब, यतिले नपुगेपछि कलाकार युटुबमा लागे । कसैलाई डलरको मोह छ, कसैलाई प्रविधिको प्रयोग भन्न पाइएको छ । कलाकारले युटुब च्यानल खोल्न नहुने त होइन । भारतमा पनि छन् नी युटुब च्यानल कलाकारका । सलमान खानको, साहरुख खानको सबैको छ ।

तर, उनीहरुले युटुब च्यानलमा के राखेका छन् । फिल्मका ट्रेलर, मेकिङ भिडियो । आफूले खाना पकाएका, घुमेका, रमाएका, दौडिएका उनीहरु राख्दैनन् ।

नेपालमा अब युटुब च्यानल खोल्न बाँकी कलाकार को होलान् । अब खोल्न बाँकीको नाम थोरै भयो । प्रियंका कार्की, वर्षा राउत, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, स्वेता खड्का, स्वस्तिमा खड्का लगायत ।

उनीहरुले भिडियोमा के राखेका छन् । अरु कलाकार बोलाएर गरेका अन्तरवार्ता, खाना पकाउने तरिका, घुमेका भिडियो, कसैले म्यूजिक भिडियो ।

कलाकारको गोप्यता अब युटुबले झनै छर्लङ्ग पारिदिदैछ । कलाकार जती गोप्य भयो उती राम्रो । तर, हाम्रो देशमा कलाकारलाई आफ्ना गतिविधी देखाउनै हैरान । एउटा टिकटकमा चलेको मान्छे र कलाकारको क्रेजमा के फरक छ खोई ?

शोअप त राम्रो हो, तर बेला बेलामा । जती बेला पनि खल्लो हुन्छ । कलाकार त जती लुक्यो उती महत्व बढ्ने हो । तर, यहाँ त लुक्ने कुरै छाडौ । कलाकारले युटुब च्यानल खोल्नु नराम्रो होइन । तर, डलरको मोह भन्दा प्रभावकारी कामका लागि ।