स्मिता र सलोन छमछमी नाचे मायाले बोलाउँदा

गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्मिताको स्वर रहेको ‘मायाले मलाई बोलायो’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् ।

अभिनेता सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् । भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ । भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । ठुलो लगानीमा निर्माण भएको यस म्युजिक भिडियो निकै सुन्दर बनेको छ भने गीतको अडियो पनि सुन्दर बनेको छ ।

पछिल्लो समय चलचित्र जस्तै ठुलो लगानीमा म्युजिक भिडियोहरू बन्न थालेका छन् र ठुलो पर्दामा जमेका कलाकारको आकर्षण पनि म्युजिक भिडियोमा बढ्दो छ । साथै म्युजिक भिडियोको गुणस्तर पनि निकै उत्कृष्ट हुन थालेका छन् । दर्शकले केही मिनेटमा नै निकै सुन्दर कथा बुनेका साङ्गीतिक भिडियोका मार्फत मनोरञ्जन लिन सक्ने भएकाले म्युजिक भिडियो निर्माण पनि उत्साहजनक रूपले भइरहेको छ ।

सलोन र स्मिताको यस म्युजिक भिडियोमा बालपनको उमेर देखिको सम्बन्ध ठुलो भइसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथा बुनिएको छ । भिडियो ‘प्रफेक्ट प्लान’को युट्युब च्यानलमा उपलब्ध छ ।