एक्शन सहितको म्यूजिक भिडियोमा पल, बर्षा र शिशिर

दिपक सिलवालको शब्द तथा संगीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ रिलीज भएको छ । बुधवार इन्टरनेटमा रिलीज यस गीतमा नायक पल शाह, नायिका बर्षा राउत र अभिनेता शिशिर भण्डारीले अभिनय गरेका छन् ।

गम्भीर बिष्टले निर्देशन गरेको यस भिडियोमा एक्शन सहितको रोमान्टिक, डान्सिंग प्रेमकथा देख्न सकिन्छ । म्यूजिक भिडियोमा एक्शन राख्नु नौलो प्रचलन हो । भिडियो निर्देशक बिष्टले चलचित्र हेरेको जस्तै महशुस गराउने आफ्नो प्रयास रहेको बताए । ‘हामीले नयाँ चलचित्र हेर्न नपाएको लामो समय भईसक्यो । अब कहिले पाईन्छ त्यो पनि टुंगो छैन । नायक पल शाह, नायिका बर्षा राउतलाई पनि हामीले चलचित्रमा हेरेजसरी नै हेरौँ र देखाऔँ भन्ने इच्छाले नै मैले यो गीतको भिडियोमा नै एक्शन राखेको हुँ’, बिष्टले बताए ।

संगीत तथा शब्द रचनाकार सिलवालले गीतले बैँशालु उमेरमा युवक युवतीको प्रेमभाव प्रस्तुत गर्ने बताए । उनले गायनमा निरुषा र शिवलाई नै रोज्नुको कारण बताउँदै भने, ‘मैले केहि गीतहरु शर्ट लिष्ट गरेको थिएँ । शिव र निरुषाजीलाई नै सुहाउने गीत नै मैले बनाउने कोशिस गरिरहेको थिएँ । निरुषाजीले पनि मसँग काम गर्ने इच्छा राख्नुभएको थियो । त्यहि अनुसार नै मैले गीत बानएको हुँ’ । भिडियोमा गरिएको मेहनत र उच्च लगानिको प्रतिफल के त ? सिलवाल भन्छन्, ‘हामीले गीतअनुसार भिडियोलाई न्याय गर्नुपर्ने हुन्छ । त्यसको लागि हामीले दुई दिन लागएर एक्शन दृश्य सहित छायांकन गरेका छौँ । हामीले गीतलाई न्याय दिने हो भने दर्शकको मन जितिन्छ । प्रतिफल पनि त्यहि नै हो ।’

गीतको बारेमा बोल्दै गायक परियार भन्छन्, ‘संगीतकार दिपक सिलवाल अत्यन्तै उर्जाशिल साधक संगीतकार भएको हुँदा पनि मैले यो गीत गाएको हुँ । यो गीतका शब्द र संगीत सुन्दा मलाई नयाँपन महशुस भएकोले पनि मैले यो गित रोजेको हुँ ।’ भिडियोको बारेमा शिवको विचार छ, ‘मोडलिंगको हिसाबले नायक पल शाहले करियरकै बढि काम गरेका छन् होला । काम गरेतापनि उनले यति धेरै भिडियोमा उस्तै उस्तै काम गरेका छन्, तर यो गीतमा केहि न केहि फरक छ । यो भिडियोमा पल, बर्षा र शिशिरको उत्कृष्ट काम देखिन्छ ।’

बेलायतमा रहेकी यस गीतकी गायिका भट्टराईले संगीतकार सिलवालले आफुले भनेबमोजिमको गीत तयार गरेपछि आफुले गाएको बताईन् । उनि भन्छिन्, ‘मेरो नशा नशामा संगीत बगेको छ । मैले लामो समयदेखी राम्रो गीत गाउने कोशिस गरिरहेकी थिएँ । थोरै भएपनि फरक प्रकारको गित गाउने इच्छा थियो । मैले दीपकजीलाई आफुले गाउने इच्छा रहेको गीतको बारेमा बताएकी थिएँ र सोहि अनुरुप गीत तयार भएपछि रिलीज गरेका हौँ । अत्यन्तै मिठो गीतमा प्रेम र रंगका कुरा गरिएका छन् । नेपाली मौलिक पंचेबाजा प्रयोग गरिेएको छ’ । भिडियोमा संजय थापा र सुक्रराज शाहको एक्शन निर्देशन रहेको छ । नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।

भिडियो हेर्नुहोस्: