नेपालमा ‘क्लिन फिड लागु’ मध्यरातबाट रोकिए, १८० भन्दाबढी विदेशी च्यानल

आजबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू भएको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचना जारी गर्दै आजबाट विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको थियो । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

त्यस्तै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको थियो तर सरकारले उसको माग अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ । कात्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी च्यानल च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।

मध्यरातबाट ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण भएका छन् । ति बाहेक अहिले रोक्क भएको छ । नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएका हुन् । त्यस्तै , यता टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानललले तत्कालै क्लिन फिड कन्टेन्ट दिन नसिकने बताइसकेका छन् ।

कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् । २० वटा विदेशी च्यानलले क्लिनफिडको सबै तयारी सकाएको र ‘जी’का १२ वटा च्यानलले भोलिसम्म सबै तयारी सकाउने जानकारी आएको पराजुलीले बताए । ‘अब फुटबल र क्रिकेटका च्यानलहरु बन्द हुन्छन्,’ उनले भने,’सम्बद्ध च्यानलले क्लिन फिड गर्न समय माग्दा सरकारले दिएन, त्यसैले केही समय ३२ वटा विदेशी च्यानलमा ग्राहकले चित्त बुझाउनुपर्छ ।’ प्रत्यक्ष प्रसारणका बेलामा विज्ञापन हुने समय निश्चित नहुने भएकाले क्लिन फिडले खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ