अभिनेत्री मालवीमाथि विच सडकमै चक्कु प्रहार, अवस्था गम्भिर

कलाकार मालवी मल्होत्रामाथि वीच सडकमै चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट गम्भिर घाइते भएकी मालवीलाई प्रहरीले अस्पताल भर्ना गरेको छ । अभिनेत्रीको अहिले कोकिलावेन अस्पतालमा उपचार भैरहेको छ ।

उनलाई फिल्मको निर्माता बताउने योगेश महिपाल सिंह नाम गरेका व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए । सामाजिक सञ्जालबाट मित्रता गाँसेका मालवी र योगेशबीच के मा फाट्यो भन्ने कुरा प्रहरीले अनुसन्धान गरिरहेको छ । मालवीलाई एकहोरो प्रेम गरेका कारण योगेशले मालवीमाथि चक्कु प्रहार गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीका अनुसार योगेशले मालवीको घर अगाडि पुगेर सडकमै रोकेर ४ ठाउँमा चक्कु प्रहार गरेका थिए । सोमबार राती योगेशले आफ्नो पेट र हातमा चक्कु प्रहार गरेको मालवीको आरोप छ ।

गम्भिर घाइते भएकी मालवीको बयानका आधारमा प्रहरीले योगेशको विरुद्धमा हत्याको प्रयासको उजुरी दर्ता गरेको छ । चक्कु प्रहार गरेको निर्माता योगेशलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालिसकेको छ । अर्की अभिनेत्री कंगना रनोटले मालवीमाथि भएको चक्कु प्रहारको विरोध गर्दै बचाउका लागि भगवानसँग प्रार्थना गरेको बताएकी छिन् ।