२३ बर्षदेखि चल्दै आइरहेको ‘सिस्नुपानी देउसी’ कार्यक्रम यो बर्ष नहुने

तिहारमा हुँदै आइरहेको ‘सिस्नुपानी देउसी’ कार्यक्रम कोरोनाका कारण बन्द गरिएको छ । २३ बर्षदेखि निरन्तर चल्दै आइरहेको ‘सिस्नुपानी देउसी’ यो साल कोरोनाका कारण स्थगित गरिएको सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले जानकारी दिएका छन् ।

उनले जारी बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम यसवर्ष स्थगित भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ,‘हाम्रा लाखौंँ समर्थक शुभेच्छुक, दर्शक, श्रोताहरूको माग र चाहना हुँदाहुँदै पनि हामी यो वर्षको सिस्नुपानी देउसी कार्यक्रम २०७७ आयोजना गर्न असमर्थ भएको जानकारी गराउँदछौँ । विगत २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम स्थगित गर्नु परेकोमा दुःख व्यक्त गर्दै हाम्रा आम दर्शक, श्रोता, शुभेच्छुक महानुभावहरूबाट आगामी दिनमा निरन्तर सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछौँ ।’

‘सिस्नुपानी देउसी’ संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे र उपाध्यक्ष मनोज गजुरेल परिवारका सदस्यहरूसहित कोरोना संक्रमित भई उपचाररत रहेको पनि जानकारी दिइएको छ।