वेब सिरिज ‘मिर्जापुर २’ विवादमा तानियो

अमेजन प्राइमबाट प्रसारण भएको बलिउड वेब सिरिज ‘मिर्जापुर २ ’ विवादमा तानिएको छ । सिरिजको एक दृश्यमा साहित्यकार सुरेन्द्र मोहनले आपत्ति जनाएका हुन् । उनले त्यो एक दृश्यमा आपत्ति जनाउँदै निर्माता फरहान अख्तर र रितेश सिधवानीका साथै अमेजन प्राइमलाई एक नोटिस पठाएका छन् ।
सुरेन्द्र मोहनले सिरिजमा आफ्नो उपन्यास ‘धब्बा’सँग जोडिएको एक दृश्य भ्रामक बनाइने बताएका छन् । उनका अनुसार सिरिजको तेस्रो एपिसोडमा सत्यानन्द त्रिपाठी (कुलभूषण खरबंदा) नामको पात्रले ‘धब्बा’को केहि हरफ पढिरहेको देखाईएको छ । ती हरफमा ‘बलदेवराज’ नामको चरित्रको बारेमा कुरा र उक्त कुरा आफ्नो उपन्यासमा नरहेको सुरेन्द्रले बताएका छन् । आफ्नो पाँच दशकको साहित्यिक करियर ध्वस्त बनाउन खोजिएको उनको आरोप छ ।

सिरिजमा अलि फजल, स्वेता त्रिपाठी, दिवयेंदु शर्मा, पंकज त्रिपाठी, रसिका दुग्गल, कुलभुषण खरबंदा, अन्जुम शर्मा, राजेश तैलंग, हर्षिता शेखर गौर, ईशा तलवार, विजय वर्मा, प्रियांशु पेनुली, अमित सियाल, अंजना शर्मा लगायतको अभिनय रहेको छ । रतेश सिधवानी र फरहान अख्तरको निर्माणमा बनेको यस सिरिजलाई गुरमित सिंह र मिहिर देसाईले निर्देशन गरेका हुन् ।