‘कोरोनासँग लड्दैछु , हिम्मत हार्या छैन’ : लोकराज अधिकारी

दर्शक तथा स्रोताले एकदमै मन पराएको गीत ‘देखि तिम्ले पराइ ठानेपछि , मर्छु बरु छट्पटीमा,रुपै मोहनी,बाजा बजाउदै’ जस्ता गीतका सर्जक लोकराज अधिकारी एक साता देखि सेल्फ आइसोलेसनमा बसिरहेका छन् । दसैंमा घर दाङ गएको बेला हल्का जरो आएको र हस्पिटलमा चेकअप गर्दा आफुमा कोरोना पोजेटिभ देखिएको बताए । सेल्फ क्वारेन्टाइनमा बसिरहेका लोकराज अधिकारीले आफ्नो कोरोना अनुभव यसरी साटेका छन् :-

‘म संक्रमण मुक्त हुन्छु भनेर त मैले सोचेको थिएन । किनकी मेरो कर्म नै मान्छे संग भेटघाट गर्नुपर्ने , बोलचाल गर्नु पर्ने नै छ । तर पनि सकेसम्म कोरोनाले नछोओस् भनेर सचेतता अपनाएकै थिए । तर ,कार्तिक १८ गते मेरो कोरोना रिपोर्ट पोजेटिभ आयो । म संगै मेरो श्रीमती पनि पोजेटिभ । म काठमाडौ मै संक्रमित भए वा दाङ आउँदा बाटोमा भए वा गाउँघरमै भए अन्योलमा छु । कन्ट्याक्ट् ट्रेसिङको ब्यबस्था अस्तब्यस्त हुँदा हामी निकै अन्योलमा परेका थियौ । निकै डराएका पनि थियौँ । किनभने यता (दाङ) कन्ट्याक ट्रेसिङको व्यवस्था नहुँदा निकै गाह्रो हुदो रहेछ ।
दसैंमा म गए आएपनि हाम्रो घरमा दसैं थिएन किनभने मेरो आमाको निधन भएको एक बर्ष पूरा थिएन । त्यसैले यो साल मेरो टीका जमरा थिएन । त्यसकारण घर आउन हतार थिएन । तै पनि चाडको बेला घर जाउ भन्ने लाग्यो र नवमीको दिन म दाङ आइपुगे । दसैंको दिन सामान्य भेटघाट खानपिन र आफन्तकोमा रमाइलो गदैमा समय बित्यो । म फिट एन्ड फाइन नै थिएँ । भोलि पल्ट तोरी बारीमा सिचाई गर्ने पालो थियो, त्यहाँ गएर खेतबारी सिँचाई गर्दै चिसो पानी र तोरी बारीमा रमाएँ । त्यही दिन बेलुकी शरिरको तापक्रम बढ्यो । अघिल्लो दिनको अनिँदो र तोरी बारीको चिसो होला भन्नेमा ध्यान गयो । कम्मर मुनि हल्का दुखाइ थियो । धेरै पछिको कृषिकर्मले पनि दुखेको होला भन्ने भयो । भोलिपल्ट आफैँ स्कुटी कुदाएर नजिकको मेडिकलमा गए । त्यहाँको जरो नाप्ने गनबाट नाप्दा ९९.४ को जरो देखियो । सिटामोल लगाएत केही औषधि बोकेर घरमा आए ।
दुई दिनमा जरो पनि निको भयो । १६ गते बिहानको खानापछि घरमै मज्जाले नुहाए । दिउँसो साथिभाइ बसेर रमाइलोको लागि म्यारिज पनि खेलियो । कुनै समस्या महसुस भाको थिएन । बेलुकी खाना खाएर सुत्ने बेलामा श्वास प्रस्वासमा केही असजिलो भयो । चिसोले होला भन्ने लाग्यो । केहिबेर कोसिस गरे लामो लामो श्वास लिए । हल्का गारो हुँदै गयो । तातोपानीको बाफ लिए तर गारो कम भएन ।

राती ११ बजे अटो बोलाएर घोराहीको दिपज्योती हस्पिटल पुगे । त्यतिन्जेल अलि असजिलो भएको थियो तर कोरोना तिर रत्तिभर ध्यान थिएन । इमर्जेन्सीमा पुगेर अक्सिजन लिए । ड्युटी नर्सले प्रेसर तापक्रम सबै चेक गरिन , नर्मल देखियो । अक्सिजन लेबल चाहिँ घटेको रहेछ ८४ मा झरेको रहेछ राती दुईबजेसम्म हस्पिट्लाइज्ड । त्यसपछि अलि सहज भयो । घर जान्छु भने मैले । डाक्टरसंग सल्लाह लिएर जानू भनिन् नर्सले । मैले बिहान डाक्टर आउँदा म आउछु भनेर बिदा लिए । बिहान ८ बजे पुनः अस्पताल गए । इसिजी ,रगत पिसाब टेस्ट र छातिको एक्स रे गराए । डा. मिनचन्द्र अधिकारीले कोभिड टेस्ट गर्ने सल्लाह दिनुभयो । नजिकै राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा पुगेर मेरो र श्रीमतीको स्वाब दिएर घर आयौ । बेलुकी इसिजि लगाएतको रिपोर्ट आयो । डा. अधिकारीले रिपोर्ट सामान्य नै देखिएकोले तीन दिनको औषधि लेखिदिनु भो । पिसिआरको रिपोर्ट आएपछि थप परामर्श गर्ने गरि घरमा आए ।

१७ गते रिपोर्टको पर्खाइमा बसेका हामी तर औपचारिक रिपोर्ट आएन । अनौपचारिक जानकारी चाहिँ पोजेटिभ भन्ने आयो । १८ गते भने अनौपचारिक रिपोर्ट प्राप्त गर्दा हामी दुबै जना कोरोना संक्रमितको संख्यामा गणना भैसकेका थियौ। त्यसपछि हामी होम आइसोलेट छौ । आज सातौ दिन हो । ममा थप कुनै लक्षणहरु देखिएका छैनन । उनलाई सामन्य रुघा र जरो अझै बाँकी छ । डा.को सल्लाह अनुसार भिडामिन डि ३ भिटामिन सि जिन्क र एजित्रोमेसिन नामक औषधि नियमित लिएका छौ । त्यो बाहेक घरेलु जटिबुटी औषधजन्य बनस्पति मिसाएको झोलिलो बस्तु नियमित लिएका छौ ।

तातो पानीको बाफ लिइरहेका छौँ । परिवारका अन्य सदस्यलाई संक्रमण नहोस भनेर सक्दो सचेतता अपनाएका छौ । आफन्तहरु भेटघाट गर्न आउनु हुन्छ दुरी कायम गर्ने गरेका छौ । यो बेलामा भावनात्मक साथ र सहयोगको अपेक्षा अलि बढी हुँदोरहेछ । र त्यस्को मुल्य अमुल्य पनि । यो संक्रमण जसलाई जतिबेला पनि हुन सक्छ । राज्यले हात उठाइसकेको अवस्था छ । धेरैलाइ समयमै सहि उपचारको अभाव देखिदै छ । अनि महँगो पनि । त्यसकारण आफन्त इस्टमित्र साथीभाइ र संघ सस्थाको सबैखाले साथ सहयोग हौसला चाहिने बेला हो यो ।

एउटा फोन एउटा म्यासेजले मात्र पनि संक्रमितको मनोबल उच्च हुन्छ । मलाई शारिरीक रुपमा अहिले थप जटिलता छैन । म आशाबादी मान्छे हँु । हतोत्साहित छैन । किनकी मलाई थाहा छ दिन आएपछी कसैको केही लग्दैन । दिन नआउदासम्म सबै समस्यासंग लड्नै पर्छ । त्यसैले संक्रमित हुँदैमा न आत्तिन सबैलाई सुझाव दिन चाहन्छु ।’