महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती धुमधामका साथ मनाइदैछ । उनको जन्मजयन्तीमा स्वदेश र विदेशमा रहेका साहित्यकारहरुले कविता वाचन गरेर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएका छन् । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चार्ल्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसंग्रह’ प्रकाशन गरेका थिए ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । आशुकवि देवकोटाको कविप्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैंले अंग्रेजीमा अनुवाद गरेका थिए । विसं २०२४ मा प्रकाशित ‘मायाविनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।