महामारीले प्रधानमन्त्रीको सोचे अनुसारको फोटो खिच्न पाएको छैन- राजन काफ्ले

एक दशक भन्दा लामो समय रंग पत्रकारितामा रमाएका  राजन काफ्ले  – विगत एक वर्षदेखि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय फोटोग्राफरका रूपमा कार्यरत छन् । नेपाल टेलिभिजनको कार्यक्रम हिटमिक्सबाट पत्रकारिता यात्रा शुरू गरेका काफ्लेले कान्तिपुर टेलिभिजनको चलचित्र सम्बन्धि कार्यक्रम रजतपटमा करिब ८ वर्ष काम गरे । रंग पत्रकारिताको लामो अनुभव संगालेका काफ्लेसँग रंगपत्रकारिता र प्रधानमन्त्रीको स्वकीय फोटोपत्रकार बन्दाको फरक अनुभवका विषयमा गरिएको कुराकानी :-

समय कसरी वितिरहेको छ ?

अहिले म प्रधानमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत छु । मंसिर ४ गते एक बर्ष पुरा भयो । प्रधानमन्त्रीको कार्यलयमा हुने कार्यक्रम तथा भेटघाटमा नै व्यस्त छु । त्यो भन्दा बाहिरको फोटोग्राफी गर्न पाएको छैन । यता नियुक्त भएपछि आफ्नो निजी कार्यालयको काम हेर्न नभ्याइँदो रहेछ ।
रंग फोटोपत्रकार हुँदा र प्रधानमन्त्रीका स्वकीय फोटो पत्रकार हुँदाको फरक अनुभव कस्तो छ ?

प्रधानमन्त्रीको कार्यलयमा काम गर्नु र बाहिर काम गर्नुमा धेरै फरक पर्दोरहेछ । एउटा त सेन्सिटिभीको कुरा हुन्छ, अर्को क्रियटिभिटीको । कति फोटोहरु बाहिर पठाउने, कति नपठाउने जस्ता कुराहरु हुन्छन् । फोटोपत्रकारको रुपमा काम गरेता पनि संस्थाको मर्यादा सबैभन्दा महत्वपुर्ण कुरा हुन्छ । म प्रधानमन्त्रीको निर्देशनमा नियुक्त भएको हो । फोटो खिचिसकेपछि यसले समाजमा कस्तो प्रभाव छोड्छ भन्ने कुरामा सधंै सचेत रहनु पर्छ । म त १० बर्ष देखि पत्रकारिता गर्दै आइरहेको मन्छेलाई कता कता पत्रकारको धङधङी त रहेने नै रैछ । पत्रकारिताको धर्म कति निभाउने र संस्था प्रतिको जिम्वेबारी कसरी निभाउने भन्ने कुरामा नै मैले बिलकुलै नयाँ अनुभव बटुलेको छु । प्रधानमन्त्रीको स्वकीय फोटोग्राफर भएको एक वर्ष भयो तर पनि अझै हरेक दिन नौलो फिल गरिरहेको छु । नयाँ अनुभव संगालेको छु ।

समयलाई कतिको ख्याल गर्नुपर्ने हुन्छ ?

समय त एकदमै ख्याल गर्नुपर्ने हुन्छ । समय मात्र नभएर सुरक्षा संवेदनशीलताका हिसावले पनि अति छिटो र छरितो हिसावले काम गर्नुपर्ने हुन्छ । फोटो कस्तो आयो भनेर आफै हेर्न पनि नभ्याइने हुन्छ । त्यति छिटो र आफुलाई सहज बनाएर काम गर्नुपर्ने हुन्छ ।

भनेपछि रंग पत्रकार जस्तो सजिलो नहुने रहेछ नि हैन त ?

रंग पत्रकार जस्तो एङ्गल मिलाई मिलाई फोटो खिच्छु भन्ने हुँदैन । पहिले नै आफु तयार भइसकेको हुनुपर्छ । कुन कार्यक्रममा कुन कुन क्यामेरा र कुन लेन्सको प्रयोग गर्ने, लाइटको अवस्था कस्तो छ, जस्ता कुराको पहिल्यै तयारी गर्नुपर्ने हुन्छ । फोटो जतिसक्दो राम्रो निकाल्ने कुरामा सजग हुनुपर्छ । रंग पत्रकारितामा त फोटोसुट गरेपछि क्यामेरामा हेर्न पाइन्छ, नमिलेको खण्डमा फेरि खिच्न पाइन्छ । तर, यता त त्यो छुट हुँदैन । कार्यक्रम सकिइसकेपछि मात्रै क्यामेरामा कुन फोटो कस्तो आयो भनेर हेर्न पाइन्छ । त्यसकारण हरेक हिसाबले होसियार र चुस्त हुनुपर्ने हुन्छ ।
अहिलेसम्म फोटो नराम्रो आयो भनेर गुनासो (अब्जस) आएको छ कि छैन ?

मैले अहिलेसम्म त्यस्तो प्रतित्रिया सुन्नु परेको छैन । काम गरेको एक बर्ष भयो, तर अहिलेसम्म फोटोग्राफरले फोटो बिगार्यो भन्ने कुरा सुनेको छैन र सुन्न नपरोस् भन्ने कुरामा हरदम प्रयासरत छु । कहिलेकाहीँ मिडियाका साथीहरूले पनी राम्रै प्रतिकृया दिनुहुन्छ । तपाईंले काम गर्न थालेदेखी प्रधानमन्त्रीको फोटोको चिन्ता छैन, ढुक्क छ भन्नुहुन्छ । त्यसले अझ राम्रो काम गर्ने उर्जा मिलेको छ । मैले खिचेको फोटा अधिकांस मिडियाले प्रयोग गरिरहनुभएको छ ।कति समयसम्म काममा खटिनुपर्ने हुन्छ ?

यति नै भन्ने छैन । कहिले विहान देखि रातिसम्म पनि हुन्छ । कहिलेकाहीं दिनभरी फोटो खिच्नै नपर्ने पनि हुन्छ । प्रधानमन्त्रीको कतिखेर कोसँग भेटको समय तय हुन्छ, थाहा हुँदैन । त्यसकारण पनि आफु जतिखेर पनि रेडी पोजिसनमा हुनुपर्छ । प्रधानमन्त्री त काममा एकदम व्यस्त हुनुहुन्छ भन्ने कुरा बाहिर आइरहेका हुन्छन् । उहाँ सँगसँगै काम गर्न कत्तिको भ्याइन्छ ?

प्रधानमन्त्रीको काम गराई देखेर त म चकित हुन्छु ।उहाँको काम गराई अनुसार त मैले एकछेउ पनि काम गर्न सकेको छु जस्तो लाग्दैन । हरेक विषयको ज्ञान र जानकारी राख्ने कुराले म अचम्भित छु । एकै दिन फरक फरक विषयबस्तुका १०औं कार्यक्रममा सहभागिता जनाएको र निर्देशन दिएको देख्दा आफ्नो थकान त्यसै हराएर जान्छ ।

आफुले खिचेका फोटामा विशेष लागेका कुनै छन् की ?

बालुवाटारमा मैले खिचेको पहिलो फोटो २०७६ मंसिर ४ गतेको सचिवालय बैठक हो । त्यो दिनको चर्चा बेलाबेला भइरहन्छ । जुन बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरा कार्यकाल सरकारको नेत्तृत्व गर्न दिने र पुष्पकमल दहाल (प्रचण्ड)लाई पार्टीको कामको जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यो मेरो पहिलो फोटो नै विशेष रह्यो । नेकपाका अध्यक्षद्वयका धेरै फोटालाई मिडियाले प्रयोग गरिरहेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यूका धेरै पोट्रेटहरू मेरा लागि विशेष छन् र मिडियामा प्रयोग पनि भैरहेका छन् । तर मेरो नियुक्ति पछि प्रधानमन्त्रीज्यूका ठुलाठुला दुईवटा सल्यक्रिया र लगत्तै कोरोना महामारीको प्रकोपका कारण सोचे अनुसारको फोटो खिच्न पाएको छैन । अहिलेको समयमा सामाजिक दुरी र मास्क फोटोका लागि बाधक बनेर आएको छ तर पनी केही फरक एंगलका र उत्कृष्ट फोटोहरू संग्रह गरि नेपालको बर्तमान राजनैतिक इतिहासको अभिलेख भोलिका पुष्तालाई सुरक्षित राखिदिने सोचेर काम गरिरहेको छु ।

घरपरिवार तथा साथीभाइसँग भेटघाटको समय कत्तिको मिलाउनुहुन्छ ?

पहिलो कुरा त म अहिलेसम्म सिंगल छु । बुबा आमा र परिवारका अन्य सदस्यहरूलाई समय दिने भनेको फोनमा हो । घर पुग्दा भाइ कहिले काममा व्यस्त हुन्छ कहिले सुतिसकेको हुन्छ । मैले पछिल्लो एक वर्षमा साथीभाइलाई खासै समय दिन सकेको छैन । कोरोनाले संक्रमित भएको समयमा २० दिन जति घरमै बसें । त्यही समयमा अलिअलि साथिभाइलाई बिभिन्न माध्यमबाट सम्पर्क गरें । अरुबेला त म व्यस्त नै हुन्छु । अहिलेको मेरो कामको प्रकृति सबैलाई थाहा भएकाले खासै समस्या छैन । कतिपय अवस्थामा फोन रिसिभ गर्न पनि नमिल्ने हुन्छ । नबुझ्ने केही साथीभाइले अलि फरक कुरा गर्छन्, तर मैले त्यस्ता कुराको मतलव गरेको छैन । पहिलो प्राथमिकता त काम हो नि, हैन र ? त्यो पनि प्रधानमन्त्रीको कार्यालयजस्तो संवेदनशील ठाउँमा ।

फोटो : राजन काफ्ले