पाउलो कोहेलोलाई मन पर्‍यो नेपाली फिल्म ‘सेतो सूर्य’

विश्वविख्यात लेखक पाउलो कोइल्होले नेपाली फिल्म ‘सेतो सूर्य’ को चर्चा गरेका छन् । उक्त फिल्म मन परेको भन्दै नेपाली लेखक बुद्धिसागरमार्फत् निर्देशकलाई बधाई दिएका छन्। उनले शुक्रबार ट्विटरमा नेपाली लेखक बुद्धिसागरलाई मेन्सन गर्दै सेतो सूर्यको प्रशंसा गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘बुद्धिसागर, मैले हिजो एउटा महान नेपाली फिल्म सेतो सूर्य हेरें। कृपया उक्त चलचित्रका निर्देशकलाई भेट्नुभयो भने मेरो बधाई सुनाइदिनुहोला ।’

नेपाली लेखक बुद्धिसागरले आश्चर्यचकित हुँदै ऐतिहासिक क्षणको रुपमा यसलाई प्रस्तुत गरेका छन्। कोइल्होको उक्त ट्विटलाई लिएर उत्साहित बुद्धिसागरले पनि तत्काल जवाफ दिएका छन् । ‘ओमएजी ! यो त ऐतिहासिक हो । म यो गौरवपूर्ण क्षण चलचित्रका निर्देशक र कलाकारहरुसँग बाँड्नेछु,’ बुद्धिसागरले लेखेका छन् । उनले आफ्नो उक्त ट्विटमा सेतो सूर्यका निर्देशक दीपक रौनियार र अभिनेता दयाहाङ राईलाई मेन्सन गरेका छन् ।

निर्देशक रौनियार पनि कोइल्होको प्रतिक्रियाबाट दंग छन् । उनी लेख्छन्, ‘धन्यवाद । तपाईंले यो फिल्म हेर्न र आफ्नो भावना व्यक्त गर्न समय निकाल्नुभएकोमा वास्तवमै आभारी छु । यसले मेरो दिन बनाएको छ ।’

ब्राजिलमा जन्मेका ७३ वर्षीय पाउलो कोइल्हो विश्वचर्चित गीतकार तथा उपन्यासकार हुन् । उनको उपन्यास ‘द अल्केमिस्ट’ सर्वाधिक चर्चित छ । विश्वका थुप्रै भाषामा यसको अनुवाद भएको छ । पाउलोका प्रशंसक विश्वव्यापी छन् ।

नेपाली लेखक उपन्यासकार बुद्धिसागर पनि पाउलोका फ्यान हुन् । उनले पहिले पनि पाउलोलाई मेन्सन गर्दै केही ट्विटहरु गरेका थिए ।

राजनीतिक विषयवस्तुमा आधारित फिल्म सेतो सूर्य चार वर्षअघि प्रदर्शनमा आएको थियो । यो फिल्ममा नेपालमा भएको एक दशक लामो सशस्त्र द्वन्द्वको समयलाई चित्रण गरिएको छ । व्यवसायिकरुपमा सफल हुन नसके पनि अन्तर्राष्ट्रिय महोत्सवहरुबाट सेतो सूर्य चर्चामा आएको हो ।

‘सेतो सूर्य’मा दयाहाङ राई, आशा मगराती, सुमी मल्ल, अमृतसिंह परियार, देशभक्त खनाल, रवीन्द्रसिंह बानियाँ, दीपक क्षेत्रीलगायतको अभिनय रहेको छ। फिल्म दीपक रौनियारले निर्देशन गरेका हुन्।

सिंगापुरमा आयाजित फिल्म फेस्टिबलमा सर्वोत्कृष्ट ठहरिँदै फिल्मत्रले करिब ४२ लाख रुपैयाँको पुरस्कार जितेको थियो । यसैगरी यो फिल्म नेपालबाट ओस्कारको मनोनयनमा समेत परेको थियो ।