उद्योग वाणिज्य महासंघको सदस्यमा आकाश अधिकारी विजयी

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चलचित्र निर्माता संघका अध्यक्ष एवं निर्माता तथा निर्देशक आकाश अधिकारी विजयी भएका छन् ।

आकाश ५६ भोट प्राप्त गर्दै विजयी भएका हुन् । खसेको १०१ मतमध्ये ५६ मत प्राप्त गर्दै अधिकारी वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा दोश्रो कार्यकालको लागि निर्वाचित बनेका हुन् । १४ जनाका लागि भएको प्रतिस्पर्धामा २७ जनाले उम्मेदवारी दिएका थिए ।

शनिवार सम्पन्न निर्वाचनमा आकाशले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए । उनिसँगै शेखर गोल्छा समूहबाट उम्मेदवारी दिएका निर्माता तथा निर्देशक अशोक शर्मा भने पराजित भएका छन् । शर्माले ४४ मत प्राप्त गरेका छन् ।

वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा किशोर प्रधान र चन्द्र ढकाल प्यानलका ७–७ जना निर्वाचित भएका हुन् ।

आकाशले उद्योग वाणिज्य महासंघको बस्तुगततर्फ आफू विजयी भएको खण्डमा फिल्म क्षेत्रलाई उद्योगमा परिणत गर्न पहल गर्ने, बक्स अफिसका लागि कदम अगाडि चाल्ने बताएका थिए । उनले आफूले चुनाव अगाडि गरेको प्रतिवद्धता पुरा गर्ने बताए ।