रौतहटमा कलाकार दशैंराम चमार शंकास्पद अवस्थामा मृत फेला

रौतहटमा एक कलाकारको शंकास्पद मृत्यु भएको छ ।

रौतहटको माधवनारायण नगरपालिका ५ मिठुअबा का ४५ वर्षीय दशैंराम चमारको माधवनारायण नगरपालिका वडा ४ बिसुनपुर्वा मानपुर र वडा ५ को बीचको बाँसघारीमा सोमवार शव फेला परेको हो।

उनको मुखबाट रगत बगेको छ । शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको जस्तो देखिन्छ ।

स्थानीयले बेवारिसे अवस्थामा एक अधबैंसे पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको देखिएको प्रहरीको भनाइ छ। कुटपिट वा अन्य कारणले मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि गौर अस्पताल पठाएको छ । उनको मृत्यु कसरी भयो वा हत्या गरेर फालिएको हो भन्ने पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र भन्न सकिने शाहले बताए ।

नाचगानको पेसामा रहने मृतक राम कलाकार भएको बुझिएको छ। चमार बिहे ब्रतबन्धको अवसरमा नाचगानको काम गर्थे । नाच कार्यक्रमहरूमा व्यावसायिक लबन्डा (केटीको भूमिका खेल्ने) कलाकार भएको स्थानीयको भनाइ छ।