‘नेपाली जनतामाथी नेताहरुबाट धोका भएको हो भन्ठान्छु’

गायक प्रमोद खरेल राजनितिमा अन्य कलाकार भन्दा चासो राख्ने कलाकार हुन्। उनी आफुलाई ठिक लागे नलागेको कुरामा प्रतिक्रिया जनाइहाल्छन्।

उनले पछिल्ला राजनितिक घटनालाई नजिकबाट नियाली रहेका छन् भने सामाजिक सञ्जालमार्फत आफ्ना भनाईहरु राखिरहेका छन्। उनीसँग मेरोफिल्म डटकमले गरेको यसै विषयको छोटो कुराकानी :

के छ हालखबर ?
ठिकै छु। अहिले गीत रेकर्डिङको काम भइरहेको छ ।

तपाई राजनितिक विषयलाई बेला बेलामा सामाजिक सञ्जालमार्फत आफ्ना भनाईहरु व्यक्त गरिरहनुहुन्छ ? अहिलेको अवस्थालाई कसरी बुझ्नुभएको छ?
तपाईले अहिले भएको संसद् विघटनको कुरा गर्नुभएको होला हैन। संसद् विघटन हुनु भनेको नै देशका लागि दुभाग्र्य हो। दुइतिहाईको सरकार पनि नटिक्नु भनेको देशकै लागि दुभाग्र्यको कुरा हो।

तपाईको बुझाईमा किन यस्तो भएको हो ?

मेरो बुझाईमा भन्नु पर्दा प्रतिपक्ष कमजोर भएको कारण नै यस्तो अवस्था सिर्जना भएको हो। प्रतिपक्ष बलियो र लाचारी नभएको भए सायद यस्तो अवस्था आउने थिएन की। अर्को कुरा हामी जनताको कमजोरीको कारण पनि यस्तो भएको हो की।

जनताबाट कसरी नि ? जनताले संसद् भंग गरेको त होइन क्या रे ?

हामी जनताले आफ्नो पाटीको भनुम या आफ्नो नेता जसलाई हामी समर्थन गर्छौँ। उनीहरुले जे गरे पनि समर्थन गर्छौ। अर्को पक्षले जति राम्रो काम गरेपनि जस दिदैनौँ। यसका कारण पनि नेतामा आँट भरिएर जे गर्दा पनि जनताले वाह वाह गरिहाल्छन् भन्ने प्रवृति हावी भयो र अहिलेको यो अवस्था आएको हो। नत्र संसद् विघटन गर्दा के हुन्छ भनेर सोच विचार त गर्थे होला नि हैन र ?

यसरी संसद् विघटन हुनुलाई कसरी लिनुभएको छ ?

यो नेपाली जनतामाथी नेताहरुबाट धोका भएको हो भन्ठान्छु।