भूवनलाई जिम्मा लगाएर ‘पारस’ छाडे माधवले

निर्माता माधव वाग्लेले फिल्म ‘पारसः द अनलक्की म्यान’ छोडेका छन्  । वाग्लेले आफै निर्देशन गर्ने गरि फिल्म ‘पारस’ घोषणा गरे। गत वर्ष भुवनसँग निर्माण सहकार्यसहित आफैले निर्देशक गर्ने गरेर घोषणा गरेको यो फिल्म उनले अहिले छोडेका हुन् ।

फिल्मका लागि विभिन्न कलाकार फाइनल भएको खबर समेत सार्वजनिक भयो ।  फिल्मका लागि अनमोललाई स्क्रिप्ट मनपरेपछि उनका पिता भुवन केसी र निर्माता वाग्लेबीच निर्माणको एक किसिमको सहकार्य अगाडि बढाएका थिए । जसमा निर्देशन जिम्मेवारी वाग्ले आफैले लिएका थिए ।

फिल्मको निर्देशन माधवले नै गर्ने गरि दि सुपर काजोल फिल्मस्ले फिल्म बनाउने तयारी समेत गरिएको थियो । तर, अब भने फिल्मबाट माधव वाग्ले अलग भएका छन् । उक्त सहमतिअनुसार काम अगाडि बढ्न नसकेपछि आफुले फिल्म छाडेको वाग्लेले बताए ।

फिल्मको सम्पूर्ण स्वामित्व भूवन केसीलाई दिएर आफू यो प्रोजेक्टबाट अलग भएको निर्माता वाग्लेले बताएका छन् । ‘फिल्मको कथा मैले जुन मैले लक गरेको थिएँ, त्यसलाई भूवन केसी र उनको टिमले हेरफेर गर्यो । कथालाई उहाँहरु पुरानै ढर्रामा ढालेपछि मैले, जुन कथा सुरुमा फाइनल भएको थियो त्यसमै काम गर्नुपर्छ भनेको थिएँ । तर, कथा हेरफेर भएपछि भूवन केसीलाई फिल्मको स्वामित्व दिएर म अलग भएको हुँ ।’

प्रदिप भारद्धाजको कथालाई पटकथा र संवाद गरेर आफुले  लक गरेको स्क्रिप्ट चलखेल गरेर कथा परिवर्तन गरेपछि आफुले सहमतिमा फिल्म छोडेको वाग्लेको भनाई हरेको छ । ‘ म अब नयाँ फिल्म बनाउँछु’ वाग्लेले थपे । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘पारस’ लाई अब ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनवारले निर्देशन गर्नेछन् । फिल्ममा नायक अनमोल केसीको मुख्य भूमिका रहनेछ । अभिनेत्रीको रुपमा भने आग्या करनजित फाइनल भएको चर्चा छ । निर्माण टिमले भने यसबारे जानकारी दिएको छैन । फिल्मत्रको कथा प्रदिप भारद्धाजले लेखेका हुन् । चलचित्रको चाडै नै छायांकन सुरु गर्ने भूवन केसीको तयारी छ ।