कोभिडको समयमा पनि कला क्षेत्र ठप्प छैन’

प्राज्ञहरुले कोभिड–१९ का कारण सबै क्षेत्र ठप्प भए पनि कला क्षेत्र अवरुद्ध नभएको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले कोभिडका समयमा समेत कलाकारले सिर्जना अघि बढाएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेतीले एक वर्षसम्म सबै क्षेत्र ठप्प भए पनि विस्तारै अवरोध पार गर्दै अघि बढ्न थालेको बताउनुभयो । मानवीय हेलचेक्राइका कारण निम्तिएको माहामारी विस्तारै मानव सिर्जिन खोपले हटाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मानव जीवनको ठूलो सन्त्रास मानवीय चेतनाबाट नै पार हुने रहेछ भन्ने प्रमाणित भएको छ ।”

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले प्रतिष्ठानले विस्तारै आफ्ना गतिविधि अघि बढाउन शुरु गरेको बताउनुभयो । प्रतिष्ठानले सबै प्रदेशको पहिचान समेतेर चित्रकला प्रदर्शनी गर्न लागेको उहाँको भनाइ छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले प्रदर्शनमा राखिएका चित्रले विविधतामा एकताको सन्देश बोकेको बताउनुभयो । यहाँका कुनै पनि चित्र नेपालभित्र हेर्दा कुनै ठाउँको पहिचान भए पनि विदेशमा नेपालको पहिचान बन्ने उहाँको भनाइ छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले प्रदर्शनीमा राखिएका पुस्तकले त्यो ठाउँको महत्व झल्काउने स्पष्ट पार्नुभयो । नेपाल ललितकला क्याम्पका सहायक प्राध्यापक यामकुमार शर्माले आज विमोचन भएका पुस्तक कलाका विषयमा जानकारीमूलक र महत्वपूर्ण पुस्तक भएको औँल्याउनुभयो । कार्यक्रममा ‘शशी शाह ः कला यात्रा’, ‘कला श्रष्टा ः कुलमान सिंह भण्डारी’, ‘अ बुक फर आर्टिस्ट एण्ड आर्ट स्टुडेन्ट’ र ‘जुद्धकला पाठशाला’ गरी चार पुस्तकको विमोचन भएको थियो ।