गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन

लोकदोहोरी क्षेत्रमा सक्रिय गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको आज बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका बाँनिया सुगर, प्रेसरको समेत बिरामी थिए ।

स्वास्थ्यमा असहज भएपछि मंगलबार अस्पताल लगिएको थियो। उपचारका क्रममा बुधबार बिहान ३ः३० बजे उनको निधन भएको थियो।
स्याङ्जामा जन्मिएका बानियाँ तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए । उनले गाएका ‘लडाइको लाहुरे’ चर्चित एल्बम हो भने ‘जिन्दगी के छ र’, ‘मनको वेदना’, ‘पोखरा फेवाताल’ लगायतका अन्य थुप्रै लोकगीत चर्चित छन् । उनका रोइला, सालैजो तथा भजन संग्रह समेत बजारमा आएका छन् भने झरना संगीत रेकर्डिङ स्टुडियोका संचालक समेत हुन् ।