सकारात्मक प्रतिक्रिया सहित युटुबको नम्बर १ ट्रेन्डिङमा ‘छ माया छपक्कै’

दीपेन्द्र लामाले निर्देशन गरेको राजनीतिक (सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘छ माया छपक्कै’ युट्युवको १ नम्बर ट्रेन्डिङमा उक्लेको छ । अपलोड गरिएको चौथो दिनमा १५ लाखभन्दा बढि भ्यूजसहित फिल्मले शीर्ष स्थान कब्जा गरेको हो ।

गतबर्षको दशैंमा रिलिज भएको फिल्म ‘छ माया छपक्कै’लाई युटुबमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । हलमा बम्पर व्यापार गर्न सफल यो फिल्मलाई ४ दिन अगाडि युटुबमा सार्वजनिक गरिएको हो । युटुबमा यो फिल्मलाई करिब २३ लाखले हेरिसकेका छन् । नेपालको युटुब ट्रेन्डिङको पहिलो स्थान ओगटेको फिल्मलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

फिल्म हेरेर प्रतिक्रिया दिने २२ सय भन्दा बढी दर्शकले यसलाई उत्कृष्ट भनेका छन् । दीपकराज गिरी र उनको टिमले बनाएको आजसम्मकै उत्कृष्ट फिल्म भनेर धेरै दर्शकले प्रतिक्रिया लेखेका छन् ।

देशको राजनीतिक अवस्था र ‘नो भोट’को अभियान छेडेको यो फिल्मले पाएको प्रतिक्रियाले निर्माता रोहित अधिकारी खुशी देखिए । उनले भने–‘हलमा पनि दर्शकले फिल्मलाई अत्याधिक रुचाउनुभएको थियो । युटुबमा पनि सोही अनुसारको माया पाएका छौ ।’

रोहितले फिल्म ‘छ माया छपक्कै २’ पनि चाडै बन्ने बताए । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

ट्रेन्डिङ १ मा आएपछि टिम मेम्बरहरूले फेसबुकमा खुशी साटेका छन् ।