मोडल तथा भाइरल अर्जुन बिक जबरजस्ती करणी आरोपमा पक्राउ

लकडाउनको समयमा छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाउँदै सामाजिक सञ्जालमा भाइरल भएका कैलालीका अर्जुन बिक  पक्राउ परेका छन्। उनलाई कैलाली प्रहरीले शरीर बन्धक एवं जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । उनले भने ती बालिकालाई आफ्नो श्रीमती बताउने गरेका छन् । तर कानुनत १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकोले उनी पक्राउ परेका हुन् । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।

उनीविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । बिक सामाजिक सञ्जालमा भाइरल भएपछि दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।