चलचित्र पत्रकार संघ चितवनको साधारणसभाः चार जना पत्रकार र कलाकार सम्मानीत

चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले आइतबार भरतपुरमा आयोजना गरेको साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रममार्फत एक जना कलाकार र तीन जना पत्रकारलाई नगद सहित सम्मान गरेको हो ।

चितवनमा रहेर कलाकारिता मार्फत नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै संघले कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्काबाट सम्मान गरेको छ । श्रेष्ठलाई नगद पाँच हजार ५५५ रुपैयाँ, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी, पत्रकारितामार्फत चलचित्र क्षेत्रको उन्नयनमा टेवा पु¥याएको भन्दै संघले अनलाइन खबरका विजय आवाजलाई सेन्ट्रल कलेज राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, चितवन पोष्टका किशोर खनाललाई एजर एभियसन सक्रिय चलचित्र पत्रकारिता पुरस्कार र एटुजेड समाचारका सुशील पन्तलाई नन्दप्रसाद–सुशीला युवा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ ।

सम्मानीत सबैलाई पाँच हजार ५५५ रुपैयाँ नगद, प्रमाण तथा दोसल्लाबाट सम्मान गरिएको हो । साधारणसभाका क्रममा कार्यक्रमका प्रमुख अतिथि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनका रङ्ग पत्रकारहरुले कलाकारिता सँगै धेरै क्षेत्रमा कलम चलाएको बताउनुभयो । कलाकार र पत्रकारहरु सहकार्य गर्दै अगाडि बढेको क्षेत्रमा नेपाली कालाकारिता क्षेत्रको शीर उँचो हुने धुर्मुसको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले रङ्ग पत्रकारहरु पनि नेपाल पत्रकार महासंघको एशोसिएट सदस्य भएको उल्लेख गर्दै सहकार्य गरेर नेपाली पत्रकारिता क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, प्रेस सङ्गठन चितवनका संयोजक प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले विट पत्रकारिताको विकास हुँदै गएको उल्लेख गर्नुभयो । विट पत्रकारिता हुँदै गर्दा चितवनमा चलचित्र पत्रकारहरुको भूमिका अझै बढेको उहाँहरुको भनाइ थियो ।

कार्यक्रममा सम्मानीतहरुको तर्फबाट कलाकार ऋद्धिचरण श्रेष्ठ, पत्रकार विजय आवाज र किशोर खनालले मन्तव्य राख्नुभएको थियो । साधारणसभाको बन्द सत्रमा चलचित्र पत्रकार संघ चितवनका सचिव आनन्द पोखरेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रवीन सुवेदीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । साधारणसभाले यसै वर्ष २० जना पत्रकारहरुलाई चलचित्र पत्रकार संघ चितवनको साधारण सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको सचिव पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी, जिल्लाले गर्ने हरेक काम केन्द्रसँग सहकार्य गरेर गर्ने र चाँडै नै राष्ट्रिय स्तरको कार्यशाला गर्ने निर्णय समेत भएको पोखरेलले बताउनुभयो । कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारीले गर्नुभएको थियो ।