दयाहाङ र प्रकृतिको ‘बिहे पास’ कलाकार खोज्दै

चैत पहिलो साताबाट छायांकन सुरु हुने फिल्म ‘बिहे पास’ले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् ।

बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको हो ।

फिल्मका लागि २० देखि ६५ वर्षसम्मका २२ पुरुष र २०, २६, ४०, ५० र ६७ वर्षका ५ जना महिला कलाकारको खोजी गरेको छ ।

स्क्रिप्टको मागअनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ मात्र नभइ अनुभवी कलाकारले पनि अडिसनमा भाग लिन पाउने छन् ।
अडिसन फागुन ११ र १२ गते अर्थात भोलि र पर्सि नेपाल फिल्म कास्टिङ कम्पनी, ग्वार्को, ललितपुरमा हुनेछ ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्मातामा ग्याल्जेन लामा छन् ।

सामाजिक विषयमा आधारित भएर निर्माण गर्न लागिएको यो फिल्म मनोरञ्जनात्मक हुने निर्माण पक्षले बताउँदै आएको छ ।

तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका छन् ।