‘कबड्डी’को अन्तिम सिक्वेल ‘कबड्डी ४’ निर्माणको घोषणा

सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल निर्देशक रामबाबु गुरुङले फिल्म ‘कबड्डी–४’ निर्माणको घोषणा गरेका छन् । उनले चौथो सिरिज ‘कबड्डी’को अन्तिम सिरिज हुने पनि बताएका छन् ।

रामबाबुको निर्देशन रहेको फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष आएको थियो ।

गुरुङले फिल्म २०७८ मा रिलिज हुने सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ ।

बाँसुरी फिल्म प्रोडक्सनको प्रस्तुति फिल्म ‘कबड्डी–४’ को कथा पनि उनी स्वयंले लेखेका छन् । अन्य स्क्रिप्टमा पनि काम गरेका उनले सुरुमा ‘कबड्डी–४’ लिएर आएका हुन् ।

अहिलेसम्मका शृङ्खलामा जोडिएका सबै कलाकार ‘कबड्डी ४’मा अटाउने योजनामा निर्देशक गुरुङ रहेका छन् ।

‘कबड्डी’को फष्टपार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रोमा निश्चलको ठाउँमा सौगात र तेस्रोमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए ।

फिल्मको छायाँकन २०७८ वैशाखबाट सुरु गर्ने योजना निर्देशक गुरुङको रहेको छ । फिल्म भने दसैँमा प्रदर्शनमा आउनेछ ।

उनले पछिल्लो समय धुर्मुस–सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ निर्देशन गरेका थिए ।