भारतमा जित्यो ‘राज्जा रानी’ले अन्तराष्ट्रिय अवार्ड

भारतमा नेपाली फिल्म ‘राज्जा रानी’ अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । मधेशमा व्याप्त दाइजो प्रथाको कथामा आधारित भएर निर्माण भएको मैथिली फिल्म ‘राज्जा रानी’ ले साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।

भारत, बिहारको मुजफरपुरमा मार्च ५ देखि ७ सम्म भएको फेस्टिभलको अन्तिम दिन फिल्मलाई उत्कृष्ट रिजनल फिचर फिल्म र उत्कृष्ट खलपात्रको विधामा अवार्ड प्रदान गरिएको हो । मैथिली भाषामा निर्मित फिल्म ‘राज्जा रानी’ का निर्माता राज कुमार महतोले अवार्ड प्राप्त गरेका थिए । उनलाई तीन दिवसिय साइनसिने फिल्म फेस्टिभलको अन्तिम दिन आयोजित अवार्ड वितरण समारोहमा बलिउड तथा भोजपुरी गायिका स्नेह उपाध्यायले हस्तान्तरण गरेकी थिन् ।
फिल्म नेपाली र मैथिली भाषामा निर्माण भएको थियो भने यम थापाले निर्देशन गरेका हुन् । फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरसिया, स्वर्गीय दीपक क्षेत्रीको मुख्य भूमिका रहेको छ । उक्त फेस्टिभलमा २३ देशका दुई सय फिल्म दर्ता भएका थिए।