आमिरपछि माधवनलाई कोरोना संक्रमण

बलिउडका कलाकारलाई एकपछि अर्कोलाई कोरोना संक्रमण भइरहेको छ । आमिरलाई कोरोना भएको पुष्टि भएको केहि दिनपछि अर्को कलाकार आर माधवनलाई पनि कोरोना संक्रमण भएको छ ।

अभिनेताले माइक्रोब्लगिङ साइट ट्वीटरमा ट्वीट गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले सन् २००९ मा रिलिज भएको फिल्म थ्री इडियट्ससँग आफ्नो कुरा जोड्दै सबै कुरा ठिक भएको बताएका छन् । आफू तीब्र गतिमा यो रोगबाट निको भइरहेको आफ्ना शुभचिन्तकलाई सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले फिल्म थ्री इडियट्सको पोस्टरबाट आफ्नो र आमिर खानको तस्बिर साझा गर्दै लेखेका छन्, ‘फरहानले र्यान्चोलाई फलो गर्नुपर्ने थियो र भाइरसले सधैं उनलाई फलो गरिरहेको थियो । यद्यपि, यसपटक उसले उनलाई समातिहाल्यो । तर अल इज वेल र कोभिड पनि चाँडै नै इनारमा जानेछ । यद्यपि, यहाँ हामी राजूको प्रवेश होस् भन्ने चाहँदैनौं । धन्यवाद तपाईंको प्रेमका लागि । म तीब्र गतिमा निको भइरहेको छु ।’