फिल्म ‘घिन्ताङ’मा नायिकाको खडेरी, लक्ष्मी बर्देवाले पनि छोडिन्

फिल्म ‘घिन्ताङ’बाट लक्ष्मी बर्देवाले पनि छाडेकी छिन् ।

निर्देशक दीपक श्रेष्ठले बनाउन लागेको फिल्म (घिन्ताङ) मा कलाकारको खडेरी परेको छ।

पुराना निर्देशक दीपक श्रेष्ठको कमब्याक भनिएको फिल्म ‘घिन्ताङ’बाट लक्ष्मी बर्देवाले पनि हात झिकेकी हुन् । यसअघि एलिजा गौतमले छोडेकी थिइन् अहिले पछि आएर बर्देवाले छाड्दा कलाकारको खडेरी परेको हो।

एलिजा गौतमले छाडेका ठाउँमा निर्देशक दीपक श्रेष्ठले लक्ष्मीलाई अनुबन्ध गरेका थिए ।

सरस्वती पूजाको अवसर पारेर यो फिल्मको कमलादी गणेशस्थानमा पूजाआज गरिएको थियो । पूजाआजा गरेसँगै यो फिल्मको सुटिङ शुक्रबारबाट सुरु हुने जानकारी गराइएको थियो । तर, सुटिङको अघिल्लो दिन नै दीपक श्रेष्ठले कोरोना पोजेटिभ भएको सूचना सार्वजनिक गरेका थिए ।

लामो समयपछि फिल्ममा फर्कन लागेका निर्देशक दीपकले आफ्नै लगानीमा फ्लप फिल्म दिएकी नायिकालाई रोजेका थिए। तर उनले समेत साथ छाड्दा फेरि नायिकाको खोजीमा श्रेष्ठ निस्कनुपरेको छ।

केही समयअघि बाल कलाकारको खोजी गरिरहेको घिन्ताङ टोलीले अब नायिका पनि खोज्नुपर्ने भएको छ।

‘घिन्ताङ’मा गौरव पहारी र लक्ष्मीले मुख्य भूमिकामा अभिनय गर्ने कुरा थियो ।

लक्ष्मीले अहिले ‘घिन्ताङ’ र आफूले पहिले नै साइन गरिसकेका प्रोजेक्टको समय जुधेकाले आफूलाई ‘घिन्ताङ’ छाड्ने निर्णय गरेको बताएकी छिन् ।

निर्देशक श्रेष्ठले बनाएका पापी मान्छे, हिम्मतलगायतका फिल्म दर्शकले मन पराएका थिए।

फागुनको पहिलो साताबाटै छायांकनमा जाने योजना बनाएको टोली फेरि पछाडि परेको छ।