मण्डलामा दयाहाङको ‘मितज्यु’

मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । आज   साँझ ५ बजे नाटक ‘मितज्यू’ मञ्चन गर्दैछ । नाटकलाई सोमनाथ खनालले लेखेका हुन् भने अभिनेता दयाहाङ राईले निर्देशन गर्दैछन् । नाटकलाई मण्डलाले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत रिलिज गर्न पनि लागेको छ ।
नाटक ‘मितज्यू’मा नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरअवस्थालाई फर्केर हेर्दा देखिने ‘फ्लासब्याक’ को कथामा आधारित रहेको छ ।
नाटकमा पञ्चायतकालीन नेपालको पूर्वी भेगको दुई वृद्धहरुको कथालाई मञ्चन गर्न लागिएको हो । यो नाटक ७ वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मञ्चन गरिएको थियो ।

त्यहि नाटकलाई अहिले लकडाउनको समयमा डिजिटल प्लेटफर्मबाट मञ्चन गर्न लागिएको हो । नाटक पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरूका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायांकन गरिएको बताइएको छ ।नाटकमा बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, बिकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ । नाटकका मञ्च परिकल्पनाकार राजन खतिवडाका रहेका छन् भने छायांकन शैलेन्द्रध्वज कार्कीको छ । नाटकमा बेनुका राईको संगीत सुनिनेछ ।